नारायणगढ । चितवनको माडीमा नयाँ जातको धान लगाएका किसानले यस वर्ष अपेक्षित उत्पादन लिन नसकेपछि चिन्तित बनेका छन् । रोपाइँदेखि नै विभिन्न रोग देखिएको धान पाक्ने बेलासम्म पनि बाला नलाग्ने र बाला लागेका बोटमा समेत दाना नभरिएपछि किसान समस्यामा परेका हुन् ।
गत वर्षसम्म राम्रो उत्पादन हुँदै आएको खेतमा यस वर्ष धानको सट्टा खोक्रा बाला (टाटला) मात्रै भेटिएपछि किसानलाई वर्षभरि खाने अन्न जुटाउनसमेत समस्या हुने चिन्ता थपिएको छ । धानखेतीमा भएको क्षतिको समाधान खोज्दै किसान दिनहुँजसो माडी नगरपालिकाको कृषि शाखा धाउने गरेका छन् ।
माडी नगरपालिका–५, ६ र ७ लगायतका क्षेत्रमा एग्रोभेटबाट बीउ खरिद गरी लगाइएको ‘बायोसीड ३०१’ जातको धानमा यस्तो समस्या देखिएको हो । उक्त धानमा विभिन्न रोग लाग्नुका साथै बाला नलाग्ने, बाला लागे पनि सानो हुने र दाना नलागी खोक्रो रहने समस्या देखिएको छ ।
माडी नगरपालिका कृषि शाखाका अनुसार उक्त जातको धानमा वनस्पतिक अवस्थामा मरुवा (ब्लास्ट) र खैरो थोप्ले रोग देखिएको थियो । रोग नियन्त्रणका लागि कृषि शाखा र स्थानीय एग्रोभेटको सल्लाहअनुसार विषादी प्रयोग गरे पनि समस्या समाधान हुन नसकेको कृषि शाखा प्रमुख सुरेश सिँखडाले बताए ।
उनका अनुसार धान पसाउने र बाला लाग्ने समयमा समेत बाला नलाग्ने तथा दाना नभरिने समस्या देखिएको हो । किसानको गुनासोपछि गरिएको स्थलगत अनुगमनमा धानमा बाला नलागेको र बाला लागेका खेतमा समेत घाँटी मरुवा, खैरो थोप्ले तथा मर्चट ब्लाइटजस्ता रोगको सङ्क्रमण व्यापक देखिएको थियो ।
सिँखडाका अनुसार असार १५ देखि असार मसान्तसम्म रोपिएको धान असोज मसान्तसम्म आइपुग्दा पनि धेरै किसानको खेतमा बाला निस्किएको थिएन । बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रको पञ्जीकरण विवरणमा उक्त जातको धान १२९ दिनमा पाक्ने उल्लेख भए पनि निर्धारित समय बितिसक्दा समेत बाला नलागेपछि बीउको गुणस्तरमाथि प्रश्न उठेको छ ।
स्थानीय एग्रोभेटसँग गरिएको छलफलमा माडी क्षेत्रमा उक्त जातको करिब तीन हजार किलो बीउ बिक्री भएको र झन्डै १०० हेक्टर क्षेत्रफलमा खेती गरिएको पाइएको कृषि शाखाले जनाएको छ ।
उक्त जातको धान लगाएका अधिकांश किसानको खेतमा समान प्रकृतिको समस्या देखिएकाले बीउमै कैफियत हुन सक्ने आशङ्का गरिएको सिँखडाले बताए । उनका अनुसार समस्याबारे कृषि शाखाले कृषि विकास कार्यालय, भरतपुर र प्रदेश बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रलाई जानकारी गराइसकेको छ ।
केन्द्रबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणसमेत गरिएको छ । अहिले नगरपालिकाले किसानबाट क्षतिको विवरण सङ्कलन गरिरहेको छ । साथै, बीउ कम्पनीका प्रतिनिधिलाई बोलाएर किसानले व्यहोरेको क्षतिलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भइरहेको सिँखडाले जानकारी दिए ।
नयाँ जातको धान लगाउँदा घाटा
माडी नगरपालिका–७, कीर्तनपुरका गोविन्द भण्डारीले गत वर्षसम्म एक कठ्ठामा पाँच मुरीसम्म धान उत्पादन गर्दै आएका थिए । यस वर्ष भने नयाँ जातको धान लगाउँदा उनको खेतमा राम्रोसँग बाला नै लागेन ।
खाँदा मिठो र मसिनो चामल उत्पादन हुने आशामा उनले नयाँ जातको बीउ खरिद गरेर रोपेका थिए । तर, रोपाइँपछि धानमा क्रमशः रोग देखिन थाल्यो । रोग नियन्त्रणका लागि पटकपटक विषादी प्रयोग गरे पनि धान काट्ने समयसम्म खेतमा बोट र खोक्रा बाला मात्रै बाँकी रहे ।
‘नयाँ जातको धान लगाउने भनेर खेती गरेको, अहिले नफलेर बरबाद भइयो । धान काट्ने बेला टाटला (खोक्रा बाला) मात्रै भेटिए, दाना केही लागेन’, भण्डारीले भने ।
उनले धानमा देखिएको समस्याको मुख्य कारण बीउमै रहेको दाबी गरे । आफूले लगाएको धानसँगै आसपासका खेतमा सोही जातको धान लगाएका किसानले पनि उस्तै समस्या भोग्नुपरेको उनको भनाइ छ । रोपेपछि धानका बोट मर्ने, बाँकी रहेका बोटमा बाला सेतो हुने र दाना नलाग्ने समस्या देखिएको उनले बताए ।
परम्परागत रूपमा लगाउँदै आएका सावित्री र गोरखनाथलगायत जातका धानमा यसअघि यस्तो समस्या नभोगेको बताउँदै उनले नयाँ जातको धान लगाउने निर्णयले यस वर्षको खेती नै खेर गएको दुःखेसो गरे । उनले यसबारे कृषि कार्यालय र बीउ बिक्रेतालाई समेत जानकारी गराइसकेका छन् ।
माडी नगरपालिका–६, कल्याणपुरकी सावित्री चापागाईंको समस्या पनि उस्तै छ । विदेशमा रहेका श्रीमान्लाई स्वदेश फर्काएर आफ्नै माटोमा केही गर्ने उद्देश्यले उनले यस वर्ष आफैँ धानखेती गरेकी थिइन् । यसअघि अरूलाई ठेक्कामा दिने गरेको जग्गामा खेती गर्दा परिवारलाई खान पुग्ने अन्न उत्पादन गर्नुका साथै आम्दानीसमेत गर्ने उनको अपेक्षा थियो । तर, धानको अवस्थाले उनको आशा निराशामा परिणत भएको छ ।
‘धान रोपेपछि रातो भयो । पछि बोट मरेर बाला नलाग्ने र पोटा मात्रै आयो । यस्तो समस्या अहिलेसम्म भएको थिएन । न धान भयो, न पराल’, उनले भनिन् ।
करिब १६ कठ्ठा क्षेत्रफलमा लगाएको धानबाट दुई–चार बोरामात्रै उत्पादन भएको र त्यो पनि खानयोग्य अवस्थामा नरहेको उनले बताइन् । सामान्य अवस्थामा उक्त खेतबाट राम्रो उत्पादन हुने अपेक्षा गरे पनि यस वर्ष लगानी र मेहनत दुवै खेर गएको उनको भनाइ छ ।
आसपासका धेरै किसानले पनि नयाँ जातको धान भन्दै सोही बीउ खरिद गरेर लगाएको र उनीहरूको खेतमा समेत उस्तै समस्या देखिएको चापागाईंले बताइन् । नयाँ बीउ पर्याप्त नभएका ठाउँमा लगाइएको केही धानमा भने सामान्य उत्पादन भएको देखिएकाले बीउकै गुणस्तरमा समस्या भएको हुन सक्ने उनको आशङ्का छ ।
यस घटनाले नयाँ बीउ छनोट गर्दा थप सावधानी अपनाउनुपर्ने पाठ सिकाएको उनको भनाइ छ । आगामी दिनमा बीउ कम्पनीको प्रचार वा एग्रोभेटको सल्लाहमा मात्रै निर्भर नभई कृषि प्राविधिक र सम्बन्धित कार्यालयको परामर्श लिएर खेती गर्ने उनले बताइन् ।
अनुसन्धानपछि क्षतिको यकिन गरिने
कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले माडीका केही क्षेत्रमा नयाँ जातको धानमा समस्या देखिएको जानकारी प्राप्त भएको बताए । किसानको गुनासो र स्थानीय कृषि शाखाबाट प्राप्त विवरणका आधारमा समस्याको अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
बीउ बिक्री गर्ने एग्रोभेटले उक्त बीउ कहाँबाट ल्याएको हो भन्ने विवरण सङ्कलन गरी आवश्यक प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।
किसानले बीउ खरिद गर्दा त्यसको स्रोत, गुणस्तर र आफ्नो क्षेत्रका लागि उपयुक्तताबारे ध्यान दिनुपर्ने कँडेलले बताए । एग्रोभेटको सल्लाहमा मात्रै भर नपरी कृषि प्राविधिक तथा सम्बन्धित कृषि कार्यालयसँग परामर्श गरेर बीउ छनोट गर्न उनले सुझाव दिए ।
धानमा देखिएको समस्या रोगका कारण मात्रै भएको हो वा बीउको गुणस्तरमा समेत त्रुटि छ भन्ने विषय अनुसन्धानपछि मात्रै स्पष्ट हुने उनले बताए ।
प्रभावित किसानले व्यहोरेको क्षतिको विवरण सङ्कलन र बीउको गुणस्तर परीक्षण गरेपछि मात्रै समस्याको वास्तविक कारण र क्षतिको परिमाण यकिन गर्न सकिने कृषि विकास कार्यालयले जनाएको छ ।






