कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना

काठमाडौं – चालु आर्थिक वर्षको वैशाख १ गतेदेखि कात्तिक १६ गतेसम्म देशभर सात हजार ६८८ वटा विपद्का घटना भएका छन्। ती घटनामा परी ४०२ जनाको मृत्यु भएको छ भने १७ जना अझै बेपत्ता रहेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा सर्पदंश, पहिरो, बाढी, चट्याङ, आगलागी, हावाहुरी, भारी वर्षा, वन डढेलो, हिउँपहिरो, भूकम्पलगायतका विभिन्न विपद्का घटना भएका हुन्।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार सबैभन्दा बढी पहिरोका एक हजार ७३५ घटना भएका छन्। त्यस्तै, सर्पदंशका एक हजार ६६८, आगलागीका एक हजार ६४१, भारी वर्षाका ५९३, हावाहुरीका ५३७, बाढीका ४६६, जनावरको आक्रमणका ४१७ र चट्याङका ३३३ घटना दर्ता भएका छन्।

यसैगरी वन डढेलोका १९२, लेक लाग्नेका ७९, भूकम्पका नौ, हिउँपहिरोका छ, असिनाका चार, डुङ्गा पल्टिनेका दुई, विस्फोटनको एक र अन्य पाँच घटना भएका छन्।

विपद्का कारण सबैभन्दा बढी सर्पदंशबाट ११६ जनाले ज्यान गुमाएका छन्। पहिरोमा परी ७७, बाढीबाट ४१, चट्याङबाट ३६, आगलागीबाट ३२, लेक लागेर २७ र जनावरको आक्रमणबाट २३ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।

त्यस्तै, हिउँपहिरोबाट १९, हावाहुरीबाट १६, भारी वर्षाबाट सात, डुङ्गा पल्टिएर पाँच, वन डढेलोबाट एक, विस्फोटनबाट एक र अन्य विपद्का घटनामा पाँच जनाको मृत्यु भएको छ।

प्राधिकरणको तथ्याङ्कअनुसार विपद्का घटनामा परी हालसम्म दुई हजार ५२९ जना घाइते भएका छन् भने नौ हजार ८५७ परिवार विस्थापित भएका छन्।

यसैबीच, गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको विस्तृत क्षतिको विवरण विपद् व्यवस्थापन सूचना प्रणालीमा समावेश गर्न बाँकी रहेकाले उक्त क्षति यस तथ्याङ्कमा समेटिएको छैन। रासस