नदी नियन्त्रणमा पहिलो त्रैमासिकमा ३४ दशमवल नौ प्रतिशत प्रगति

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नदी नियन्त्रण कार्यक्रमतर्फ ३४ दशमलव नौ प्रतिशत भौतिक प्रगति हासिल गरेको जनाएको छ ।

मन्त्रालयअन्तर्गतको नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखाका प्रमुख रवीन्द्रबहादुर थापाका अनुसार नदी नियन्त्रण कार्यक्रमका लागि चालु आर्थिक वर्षमा पाँच अर्ब २० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

पहिलो त्रैमासिकका लागि छुट्याइएको ६२ करोड ७४ लाख रुपैयाँमध्ये १४ करोड ७० लाख रुपैयाँ खर्च भएको छ । यो त्रैमासिक बजेटको २३ दशमलव चार प्रतिशत हो । बजेट खर्चको तुलनामा भौतिक प्रगति भने ३४ दशमलव नौ प्रतिशत पुगेको महाशाखाले जनाएको छ ।

उक्त अवधिमा दुई दशमलव नौ किलोमिटर तटबन्ध निर्माण गर्नुका साथै एक हेक्टर जग्गा उकास गरिएको प्रमुख थापाले जानकारी दिए ।

महाशाखाका अनुसार केही आयोजनाले निर्धारित त्रैमासिक लक्ष्यभन्दा बढी प्रगति गरेका छन् । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुर (चितवन) ले लक्ष्यको १६० दशमलव आठ प्रतिशत भौतिक प्रगति गरेको छ ।

त्यस्तै, टार–बजार संरक्षण कार्यक्रमले १०८ प्रतिशत, लमही (दाङ) ले ८६ दशमलव पाँच प्रतिशत, कञ्चनपुरले ८२ दशमलव पाँच प्रतिशत र जनकपुर (धनुषा) ले ८२ दशमलव तीन प्रतिशत भौतिक प्रगति हासिल गरेको महाशाखाले जनाएको छ ।