काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेटवार्ता गरेका छन् । मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा समसामयिक राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल भएको हो ।
सभामुखको सचिवालयका अनुसार भेटका क्रममा आङ्देम्बेले कांग्रेस संसदीय दलको बैठकले गरेका निर्णय तथा सोमबार विपक्षी दलका नेताहरूबीच भएको छलफलबारे सभामुखलाई जानकारी गराएका थिए ।
सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले पत्रकारमाथि भइरहेको धरपकडलगायत सरकारका विवादित विषयमा संसदीय विशेष छानबिन समिति गठन गर्नुपर्ने निष्कर्ष निकालेको थियो । त्यस्तै, कांग्रेसको अगुवाइमा बसेको विपक्षी दलहरूको बैठकले तत्काल संसद्को हिउँदे अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेको थियो ।
सभामुखसँगको भेटपछि आङ्देम्बेले संसद्बाहिर उठिरहेका संवेदनशील विषयको समाधान संसदमै खोज्नुपर्ने धारणा राखेको बताए । उनले ती विषयमा छलफलका लागि संसद्को बैठक तत्काल बोलाउन आग्रह गरिएको जानकारी दिए ।
‘अहिले बाहिर आएका विषयहरू अत्यन्तै संवेदनशील छन् । यसलाई बाहिरै राखेर अन्योल वा भूमरी जस्तो बनाउनुभन्दा संसद्भित्रै छलफल गराउनुपर्छ र संसद्को बैठक चाँडै बोलाउनुपर्छ भनेर हामीले आग्रह गरेका छौँ,’ उनले भने ।
आङ्देम्बेले प्रेसमाथिको हस्तक्षेप, न्यायालयभित्र देखिएका विचलन, प्रहरी प्रशासनको कार्यशैली तथा प्रधानमन्त्री स्वयं जोडिएका विषयमा समेत संसद्मा छलफल हुनुपर्ने बताए ।






