तिहारका लागि राष्ट्र बैंकले सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकले तिहार पर्वको अवसर पारेर सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने भएको छ। बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखाले कात्तिक १९ र २० गते दुई दिनका लागि बिक्री खुला गर्ने निर्णय गरेको हो।

बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त वस्तु खरिद गर्न सकिनेछ। मौज्दात रहेसम्म पङ्क्तिबद्ध रूपमा सेवाग्राहीलाई बिक्री गरिने बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार एक व्यक्तिले २.५ ग्रामको एउटा सुनको असर्फी र १० ग्रामका लक्ष्मी तथा गणेश अंकित चाँदीका मेडालियन एक-एक थान गरी बढीमा दुई थानसम्म खरिद गर्न पाउनेछन्।

असर्फी तथा मेडालियन खरिद गर्न चाहने व्यक्तिले आफ्नो नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा सोको नम्बर खुलेको प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ। खरिदकर्ताले नगद वा क्यूआर कोडमार्फत भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ। सुनको असर्फी तथा चाँदीको मेडालियनको मूल्य दैनिक रूपमा बिहान ११ बजेपछि मात्र निर्धारण गरिनेछ। मूल्य निर्धारण भएपछि मात्र बिक्री प्रक्रिया अघि बढ्ने राष्ट्र बैंकले जानकारी दिएको छ।