लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबार जारी खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको हो ।

लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३४ रन बनाए । उनले ३० बलमा एक छक्का र तीन चौका प्रहार गरे । निरोशन डिकवेलाले २७ बलमा एक छक्का र दुई चौकासहित २७ रन जोडे ।

त्यस्तै, दिलिप नाथले १६ बलमा दुई छक्का र दुई चौकाको मद्दतमा २५ तथा आशिफ शेखले २१ बलमा एक छक्का र दुई चौकासहित २१ रन बनाए ।

जनकपुरका बलर विशाल सुस्लिङ र राहुल यादवले समान दुई–दुई विकेट लिए । कप्तान हर्मित सिंह, अभिषेक तिवारी र ललित राजवंशीले एक–एक विकेट हात पारे ।