काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा काठमाण्डु गोर्खाजले विराटनगर किंग्सलाई ९ विकेटले पराजित गरेको छ ।
विराटनगरले दिएको ८४ रनको सामान्य लक्ष्य काठमाण्डुले ९ ओभर ४ बलमा मात्र १ विकेट गुमाएर पूरा गरेको हो ।
काठमाण्डुको जितमा डेभिड वार्नरले आक्रामक ब्याटिङ गर्दै २४ बलमा ३ छक्का र २ चौकाको मद्दतमा अविजित ४४ रन बनाए । त्यस्तै विलियम बोसिस्टोले २४ बलमा ३ चौकासहित अविजित २३ रनको योगदान दिए । विराटनगरका अप्राजित पौडेलले १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १७ ओभर ३ बलमा ८३ रनमै समेटिएको थियो ।
विराटनगरका रुपेश सिंहले सर्वाधिक २६ रन बनाए । उनले २७ बलमा २ चौका र १ छक्का प्रहार गरे । एन्जेलो म्याथ्युजले ३१ बलमा २२ तथा बसिर अहमदले १४ बलमा १० रन जोडे ।
काठमाण्डुका कप्तान करण केसी र सन्तोष यादवले समान ३ विकेट लिए । सहान अराचिगले २ विकेट लिँदा जहानदाद खान, शहाब आलम र देव साहले समान १ विकेट हात पारे ।
यस जितसँगै काठमाण्डु गोर्खाज ३ खेलबाट ४ अंक जोड्दै अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ । पराजित विराटनगर किंग्स भने ५ खेलबाट ४ अंकसहित दोस्रो स्थानमै यथावत् छ ।
यसअघि बिहीबार नै भएको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको थियो ।






