हात्तीदह सिमसारः पर्यापर्यटनको विकासले उकासिँदै ग्रामीण अर्थतन्त्र

सिरहा । कुनै समय स्थानीयको वनभोज र सामान्य घुमफिरमा सीमित रहेको लहान नगरपालिका–१५ स्थित हात्तीदह सिमसार क्षेत्र पछिल्लो समय पर्यापर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ । सङ्घ, प्रदेश र स्थानीय सरकार तथा विभिन्न विकास साझेदारको लगानीमा सिमसार संरक्षण र पर्यटकीय पूर्वाधार निर्माणका काम अघि बढेसँगै यहाँ पर्यटकको आगमन बढेको छ । यसले स्थानीयस्तरमा रोजगारी र आर्थिक गतिविधिसमेत विस्तार गरेको छ ।

सामुदायिक वन संरक्षणलाई पर्यापर्यटनसँग जोडेर अघि बढाउँदा स्थानीय अर्थतन्त्रमा सकारात्मक परिवर्तन आउन सक्ने उदाहरण हात्तीदह बनेको छ । पर्यटकको चहलपहल बढेसँगै सामुदायिक वनको आम्दानी वृद्धि हुनुका साथै स्थानीयले ई–रिक्सा सञ्चालन, साना व्यवसाय, वनस्टे र महिला उद्यमशीलतामार्फत आयआर्जनका अवसर पाएका छन् ।

हात्तीदह सिमसार कोइरालो खोला नमुना सामुदायिक वनभित्र चुरेको फेदीमा अवस्थित छ । विसं २०५७ मा हस्तान्तरण भएको यस सामुदायिक वनमा ११९ घरधुरी उपभोक्ता आबद्ध छन् । सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रुद्रनारायण चौधरीका अनुसार वन हस्तान्तरण भएपछि उपभोक्ताले वन तथा सिमसार संरक्षणसँगै पर्यटन प्रवर्द्धनलाई पनि प्राथमिकता दिँदै आएका छन् ।

“वन हस्तान्तरण भएपछि हामीले संरक्षणसँगै पर्यटन विकासलाई पनि प्राथमिकता दियौँ । वन तथा सिमसार संरक्षण, जलाशय व्यवस्थापन, बोटिङ, प्राणी उद्धार केन्द्र सञ्चालन र अन्य पर्यटकीय पूर्वाधार थपिँदै जाँदा आन्तरिक पर्यटकसँगै सीमावर्ती भारतीय पर्यटकको आगमन पनि बढ्दै गएको छ”, उनले भने ।

वन समितिको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा एक लाख २० हजार पर्यटकले हात्तीदहको भ्रमण गरेका थिए । आर्थिक वर्ष २०८२/८३ मा यो सङ्ख्या बढेर एक लाख ३५ हजार पुगेको छ ।

पर्यटकको सङ्ख्या बढेसँगै वन समूहको आम्दानी पनि उल्लेख्य रूपमा वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/८२ मा रु ६८ लाख २४ हजार ५८३ आम्दानी गरेको वन समूहले आर्थिक वर्ष २०८२/८३ मा रु एक करोड २९ लाख ६४ हजार ३५० आम्दानी गरेको छ । अघिल्लो वर्षको तुलनामा आम्दानी करिब ९० प्रतिशतले बढेको हो ।

अध्यक्ष चौधरीका अनुसार वनस्टे र पार्किङ शुल्कजस्ता नयाँ आम्दानीका स्रोत थपिनु तथा पर्यटकीय गतिविधि विस्तार हुनु आम्दानी वृद्धिका मुख्य कारण हुन् । वन समूहको आम्दानी र खर्चलाई पारदर्शी बनाउन वार्षिक साधारणसभामार्फत उपभोक्तासमक्ष विवरण सार्वजनिक गर्ने गरिएको उनले बताए ।

वन समूहले आवश्यक खर्च कटाएर बाँकी रकम पर्यटन पूर्वाधार निर्माण तथा विकासका काममा लगानी गर्दै आएको छ । आर्थिक वर्ष २०८२/८३ मा आफ्नै आम्दानीबाट करिब रु ३० लाख पर्यटकीय पूर्वाधार निर्माणमा खर्च गरिएको समितिले जनाएको छ ।

बहुपक्षीय लगानीमा पूर्वाधार विस्तार

हात्तीदहको विकासमा सामुदायिक वनको आफ्नै स्रोतसँगै सरकारी निकाय र विकास साझेदारको लगानीसमेत जोडिएको छ । लहान नगरपालिकाले सडक स्तरोन्नति, खानेपानी तथा अन्य पूर्वाधार निर्माणमा सहयोग गर्दै आएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा हात्तीदह वनस्टेका लागि थप दुईकोठे भवन निर्माण गर्न रु २० लाख र सेल्फी ब्रिज निर्माणका लागि रु १० लाख विनियोजन गरेको थियो । त्यस्तै, वडा कार्यालयमार्फत विद्युतीकरण, खानेपानीका धारा तथा कल जडानका काम भएका छन् ।

तत्कालीन सांसद स्वर्गीय प्रदीप गिरीको संसदीय विकास कोषबाट विसं २०७९ मा खानेपानी ट्याङ्की निर्माणका लागि रु १० लाख सहयोग प्राप्त भएको थियो । बृहत् जलाधार व्यवस्थापन कार्यालय उदयपुर र राष्ट्रपति चुरे संरक्षण विकास कार्यालयले पनि वनभोजस्थल निर्माण तथा जलाधार व्यवस्थापनका काममा सहयोग गरेका छन् ।

आर्थिक वर्ष २०८२/८३ मा हात्तीदहको पर्यटन पूर्वाधार विकास तथा संरक्षणका लागि विभिन्न निकायबाट पाँचवटा कार्यक्रममार्फत कुल रु ५२ लाख ३५ हजार ४७६ बराबरको सहयोग प्राप्त भएको थियो ।

यसअन्तर्गत चुरे उत्थानशील आयोजनाबाट तारबार तथा झाडी सफाइका लागि रु १८ लाख ३३ हजार १३२, लहान नगरपालिकाबाट सौन्दर्यीकरणका लागि रु १९ लाख तीन हजार, डिभिजन वन कार्यालय लहानबाट कार्यक्रम कार्यान्वयनका लागि रु चार लाख ८९ हजार १३१, संरक्षण परियोजनाबाट पाहुनाघर निर्माणका लागि रु सात लाख ३९ हजार ४६३ तथा राष्ट्रिय कृषक समूह महासङ्घमार्फत कृषि वन र वृक्षरोपणका लागि रु दुई लाख ७० हजार ७५० सहयोग प्राप्त भएको थियो । वन समूहका अनुसार यी सबै कार्यक्रम सम्पन्न भइसकेका छन् ।

लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले आफू जिम्मेवारीमा आएदेखि नै हात्तीदहको विकासलाई प्राथमिकतामा राख्दै आएको बताए । उनका अनुसार पर्यटन प्रवर्द्धनलाई स्थानीय रोजगारी, आयआर्जन र संस्कृति संरक्षणसँग जोडेर कार्यक्रम सञ्चालन भइरहेका छन् ।

“पर्यटकीय पूर्वाधार विस्तारसँगै आसपासका समुदायको जीविकोपार्जनमा सुधार ल्याउने कार्यक्रम अघि बढाएका छौँ । वन समूहसँग आबद्ध करिब ४०० किसानलाई लक्षित गरी कृषि तथा आयआर्जनका कार्यक्रम सञ्चालन गरेका छौँ भने महिला समूहलाई दुना–टपरी बनाउने मेसिन उपलब्ध गराएका छौँ”, उनले भने ।

लहान–१५ का वडाध्यक्ष तेजनारायण चौधरीले पनि हात्तीदहको विकासमा वडा कार्यालयले खानेपानी र विद्युत् सुविधालाई प्राथमिकता दिएको बताए । सामान्य वनभोज तथा घुमफिरस्थलका रूपमा रहेको क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय समुदाय, वन समूह र सरकारी निकायबीच सहकार्य हुँदै आएको उनको भनाइ छ ।

वनस्टे र स्थानीय व्यवसायबाट रोजगारी

हात्तीदहमा पर्यटकको आगमन बढेसँगै स्थानीयस्तरमा रोजगारीका अवसरसमेत विस्तार भएका छन् । वन समूहले सञ्चालन गरेको वनस्टे तथा क्यान्टिनमा १० जनाले रोजगारी पाएका छन् । तीमध्ये चार जना महिला छन् । वनस्टेमा पर्यटकका लागि स्थानीय परिकार, चिया, खाजा तथा खानाको व्यवस्था गरिएको छ ।

वन समूहकी कोषाध्यक्ष गीताकुमारी चौधरीका अनुसार वनस्टेमा प्रतिव्यक्ति रु ८५० मा चिया, खाजा, स्थानीय खाना र एक रातको बसाइ सुविधा उपलब्ध गराइन्छ । यसबाट पर्यटकले स्थानीय थारू परिकार र संस्कृतिको अनुभव गर्न पाउनुका साथै वन समूहको आम्दानीमा समेत योगदान पुगेको छ ।

वनस्टे निर्माणको पहिलो चरणमा गत आर्थिक वर्ष दुई कोठा र शौचालयसहितको भवन निर्माण गरिएको थियो । उक्त भवन निर्माणमा रु ११ लाख ७३ हजार ३८३ खर्च भएको थियो । यसमध्ये परियोजनाबाट रु आठ लाख छ हजार ८८ र वन समूहको लागत सहभागिताबाट रु तीन लाख ६७ हजार २९५ खर्च गरिएको समितिले जनाएको छ ।

हात्तीदहमा पर्यटकको आवागमन बढेपछि ई–रिक्सा चालकदेखि आसपासका पसल, खाजाघर र कटेज सञ्चालकसम्मको व्यवसायमा सकारात्मक प्रभाव परेको छ । वन समूहका सचिव बद्री सदायका अनुसार लहान बजारदेखि हात्तीदहसम्म पर्यटक ओसारपसार गर्न १०० भन्दा बढी स्थानीयले ई–रिक्सा सञ्चालन गर्दै आएका छन् ।

लहान–१५ शोभापुरका रामनाथ महतोले दैनिक हात्तीदह र लहान बजारबीच छ पटकसम्म ओहोरदोहोर गर्दा ई–रिक्साबाट रु एक हजार ५०० सम्म आम्दानी हुने बताए । यही आम्दानीले आफ्नो चार सदस्यीय परिवारको खर्च धान्न सहयोग पुगेको उनको भनाइ छ ।

वन समूहका व्यवस्थापक दुर्गानन्द चौधरीका अनुसार पर्यटकीय गतिविधि बढेसँगै आसपासका कटेज, खाजाघर र किराना पसलको व्यापारसमेत फस्टाएको छ । यी व्यवसायबाट करिब १०० जनाले प्रत्यक्ष रोजगारी तथा आयआर्जनको अवसर पाएको उनले बताए ।

“पर्यटकको आगमनले स्थानीय उत्पादन र सेवाको माग बढाएको छ । यसले आसपासका बासिन्दालाई रोजगारी र व्यवसाय गर्ने अवसर सिर्जना गरेको छ”, उनले भने ।

महिला उद्यमशीलता र थारू संस्कृतिको प्रवर्द्धन

हात्तीदहको पर्यापर्यटन विकासले स्थानीय महिलालाई उद्यमशीलतासँग जोड्ने अवसरसमेत सिर्जना गरेको छ । सिमसार क्षेत्रमा प्लास्टिकको प्रयोग घटाउने र स्थानीय उत्पादनको उपयोग बढाउने उद्देश्यले महिला समूहले दुना–टपरी उत्पादनलाई अघि बढाएका छन् ।

सामुदायिक वनबाट प्राप्त साल र भोर्लाका पात प्रयोग गरी महिलाले घरमै दुना–टपरी बनाउन थालेका हुन् । महिला समूहलाई उपलब्ध गराइएको मेसिनले उत्पादन बढाउन र बजारमा बिक्री गर्न सहज भएको छ ।

समूहकी सदस्य गीताकुमारी चौधरीले पहिले घरायसी काममा मात्र सीमित रहेका महिला अहिले दुना–टपरी उत्पादनमार्फत आम्दानी गर्न थालेको बताइन् ।

“वनबाट पाइने साल र भोर्लाका पात प्रयोग गरेर दुना–टपरी बनाउने गरेका छौँ । नगरपालिकाले मेसिन उपलब्ध गराएपछि उत्पादन गर्न सजिलो भएको छ । यसबाट आम्दानी हुनुका साथै घरखर्च र बालबालिकाको पढाइमा सहयोग पुगेको छ”, उनले भनिन् ।

लहानस्थित अर्थशास्त्रका प्राध्यापक धरणीधर कोइरालाका अनुसार छरिएर रहेका सार्वजनिक बजेटलाई स्थानीय समुदायको सहभागितामा एकीकृत रूपमा परिचालन गर्दा दीर्घकालीन उपयोगका पूर्वाधार तथा उत्पादनशील सम्पत्ति निर्माण गर्न सकिन्छ ।

उनले वातावरणीय संरक्षणसँगै स्थानीयस्तरमा हरित रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न यस्तो लगानी प्रभावकारी हुने बताए ।

“हात्तीदहको विकासले सार्वजनिक लगानी, सामुदायिक सहभागिता र स्थानीय उद्यमलाई एकसाथ जोड्न सके ग्रामीण अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने सम्भावना देखाएको छ । यसले वातावरण संरक्षण र समावेशी आर्थिक समृद्धिलाई सँगसँगै अघि बढाउन सकिने उदाहरण प्रस्तुत गरेको छ”, उनले भने ।