काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत शनिबार लुम्बिनी लायन्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन्।
यस संस्करणमा अपराजित रहेको लुम्बिनीलाई रोक्नु काठमाडौंका लागि मुख्य चुनौती हुनेछ। यता लगातार दुई खेल जित्दै लयमा फर्किएको काठमाडौं पनि लुम्बिनीलाई पराजित गर्दै अंक तालिकामा आफ्नो स्थिति सुधार गर्ने योजनामा छ।
लुम्बिनीले चार खेलबाट तीन जित र एक वर्षाका कारण नतिजाविहीन खेलसहित सात अंक जोडेको छ। टोली अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। त्यस्तै, काठमाडौंले तीन खेलबाट दुई जित र एक हारसहित चार अंक जोडेको छ। काठमाडौं हाल अंक तालिकाको चौथो स्थानमा छ।
लुम्बिनीले प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको थियो। त्यसपछि पोखरा एभेन्जर्सलाई आठ विकेट र जनकपुर बोल्ट्सलाई १६ रनले हराएको थियो। चितवन राइनोजसँगको खेल भने वर्षाका कारण रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका थिए।
यता काठमाडौंको सुरुवात भने हारबाट भएको थियो। पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको काठमाडौंले त्यसपछि लगातार दुई खेलमा जित निकालेको छ। दोस्रो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराएको काठमाडौंले बिहीबार विराटनगर किङ्सलाई नौ विकेटले पराजित गरेको थियो।
विराटनगरलाई ८३ रनमै समेटेको काठमाडौंले ९.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। लगातार दुई जितले काठमाडौंको आत्मविश्वास बढेको छ।
एनपीएलको इतिहासमा यी दुई टोलीबीच अहिलेसम्म तीन खेल भएका छन्। जसमा काठमाडौंले दुई खेल जितेको छ भने लुम्बिनीले एक खेलमा सफलता हात पारेको छ।
दोस्रो संस्करणमा यी टोली दुईपटक आमनेसामने भएका थिए। लिग चरणको खेलमा काठमाडौंले लुम्बिनीलाई २२ रनले पराजित गरेको थियो। तर, एलिमिनेटरमा लुम्बिनीले चार विकेटको जित निकाल्दै अघिल्लो हारको बदला लिएको थियो। उक्त खेलमा काठमाडौंले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो।
दोस्रो संस्करणको उपाधि विजेता लुम्बिनी यसपटक पनि बलियो दाबेदारका रूपमा देखिएको छ। ब्याटिङ र बलिङ दुवै पक्षमा सन्तुलित प्रदर्शन गरिरहेको टोली आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ।
काठमाडौं भने पछिल्ला दुई खेलमा देखाएको प्रदर्शनलाई निरन्तरता दिँदै लुम्बिनीलाई रोक्ने रणनीतिमा हुनेछ। समग्र हेड टु हेडमा काठमाडौं अगाडि रहे पनि पछिल्लो भेटमा लुम्बिनीले जित निकालेकाले शनिबारको प्रतिस्पर्धा दुवै टोलीका लागि प्रतिष्ठाको विषयसमेत बनेको छ।






