काठमाडौं। तिहार, दीपावली, नेपाल संवत् तथा छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा बनाएको छ। चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, नागरिकको जीउधनको सुरक्षा र आवागमनलाई सहज बनाउन आवश्यकताअनुसार प्रहरी परिचालन गरिएको हो।
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरी सम्भावित सुरक्षा चुनौतीको विश्लेषणका आधारमा संवेदनशील क्षेत्रमा निगरानी र प्रहरी परिचालन बढाइएको छ। विशेषगरी बजार, धार्मिकस्थल, सार्वजनिक यातायात केन्द्र, सीमा नाका तथा बढी भीडभाड हुने स्थानलाई प्राथमिकतामा राखिएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेले चाडपर्वका समयमा चोरी, लुटपाट, जुवातास, लागुऔषध तथा मादक पदार्थको दुरुपयोग, झैझगडा, कालोबजारी, खाद्यवस्तुमा मिसावट र आगलागीलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा पहिचान गरिएको बताए।
सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन नियमित गस्ती, आकस्मिक जाँच र सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ। त्यस्तै, सीसीटीभी, शरीरमा जडित क्यामेरा, ड्रोन तथा तालिमप्राप्त कुकुरको प्रयोग गरी निगरानी गरिने प्रहरीले जनाएको छ।
जोखिमयुक्त क्षेत्रमा सुरक्षा सतर्कता बढाउनुका साथै सम्भावित घटनामा तत्काल प्रतिक्रिया दिन द्रुत परिचालन टोली र विपद् व्यवस्थापनमा खटिने जनशक्तिलाई तयारी अवस्थामा राखिएको छ।
चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले सडक सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणलाई पनि प्रहरीले प्राथमिकता दिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी कम्तीमा एक हजार १६५ प्रहरी परिचालन गरिएको छ। अन्तरराष्ट्रिय सीमा नाकाका १०८ स्थानमा समेत यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ।
लामो दूरीका सवारीसाधन सञ्चालन गर्नुअघि चालकको अनुमतिपत्र, मादक पदार्थ तथा लागुऔषध सेवनको अवस्था र सवारीसाधनको यान्त्रिक अवस्थासम्बन्धी कागजात जाँच गर्ने व्यवस्था मिलाइएको छ। त्यस्तै, लामो दूरीका सवारीसाधनमा दुई जना चालक राख्नुपर्ने व्यवस्थाको कार्यान्वयनमा समेत निगरानी बढाइएको छ।
सीमा नाकामा स्थापना गरिएका सहायता कक्षमार्फत विदेशबाट स्वदेश फर्किने नागरिकलाई सम्भावित ठगी, लुटपाट तथा अन्य दुर्व्यवहारबाट जोगाउन आवश्यक सहयोग उपलब्ध गराइने प्रहरीले जनाएको छ।
साइबर अपराधमा दुई जना पक्राउ
सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गर्नुका साथै अश्लील तस्बिर तथा भिडियो सार्वजनिक गरिदिने धम्की दिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्यूरोले विद्युतीय माध्यमबाट महिलामाथि दुर्व्यवहार तथा चरित्र हत्या गरेको आरोपमा इलाम र सिन्धुपाल्चोकका दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा इलामका विकल्प राई र सिन्धुपाल्चोकका सुजन पाण्डे रहेका छन्। ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार राईले प्रेम सम्बन्धमा रहँदा खिचिएका तस्बिर तथा भिडियो सामाजिक सञ्जाल टेलिग्राममार्फत सार्वजनिक गरेर महिलाको चरित्र हत्या गरेको आरोप छ।
त्यस्तै, पाण्डेले सामाजिक सञ्जाल एक्समार्फत पीडित महिलाका अश्लील भिडियो तथा तस्बिर आफूसँग रहेको र सार्वजनिक गरिदिने धम्की दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पीडितले दिएको निवेदनका आधारमा प्राविधिक अनुसन्धान तथा विश्लेषण गर्दा दुवै जना घटनामा संलग्न रहेको खुलेपछि पक्राउ गरिएको प्रवक्ता अवस्थीले जानकारी दिए। प्रहरीले राईलाई काठमाडौँको ठमेलस्थित पर्यटन मार्ग र पाण्डेलाई तारकेश्वरबाट पक्राउ गरेको हो।
पक्राउ परेका राईविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन र पाण्डेविरुद्ध चार दिनको म्याद थप गरिएको ब्यूरोले जनाएको छ। दुवै घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






