काठमाडौं: नेपाल विद्युत् प्राधिकरणले तिहार र छठ पर्वका अवसरमा उपभोक्तालाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन विशेष तयारी गरेको छ। प्राधिकरणले पर्वका समयमा विद्युत् आपूर्तिमा कुनै अवरोध आउन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्ने व्यवस्था मिलाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको वरिष्ठ व्यवस्थापन टोलीको बैठकले पर्व अवधिभर विद्युत् प्रणालीको नियमित सञ्चालन र आपूर्ति व्यवस्थापनबारे छलफल गरेको छ। प्राधिकरणले प्रणाली सञ्चालन विभाग, ग्रिड सञ्चालन विभाग र वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुखहरूसँग समन्वय गरी जनशक्ति परिचालन र प्रणालीको निगरानीलाई प्रभावकारी बनाउने निर्णय गरेको छ। कार्यकारी निर्देशक श्रेष्ठले विद्युत् आपूर्तिमा समस्या देखिए तत्काल मर्मतसम्भार गर्न प्राविधिक टोलीलाई २४ सै घण्टा तयारी अवस्थामा राख्न निर्देशन दिएका छन्। साथै, नो लाइट सेवालाई थप चुस्त बनाउँदै उपभोक्ताका गुनासो तत्काल सम्बोधन गर्न भनिएको छ।
लक्ष्मीपूजाका दिन विद्युत्को अधिकतम माग करिब १ हजार ७०० मेगावाट रहने अनुमान गरिएको छ। सो अवधिमा आन्तरिक विद्युत् उत्पादन करिब २ हजार ५०० मेगावाट हुने प्रक्षेपण गरिएकाले माग धान्न कुनै समस्या नहुने प्राधिकरणले जनाएको छ।
यसैबिच, प्राधिकरणले उपभोक्तालाई विद्युत्को सुरक्षित प्रयोग गर्न आग्रह गरेको छ। घरमा प्रयोग हुने विद्युतीय उपकरण र तारको अवस्था जाँच्न, गुणस्तरहीन सामग्री प्रयोग नगर्न र समस्या देखिए दक्ष प्राविधिकबाट मात्र मर्मत गराउन प्राधिकरणले अनुरोध गरेको छ। विद्युत् आपूर्तिसम्बन्धी कुनै गुनासो भएमा नजिकको वितरण केन्द्र वा नो लाइट सेवामा सम्पर्क गर्न सकिनेछ।






