शान्तिवार्ताको तयारीबीच किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, पाँच घाइते

किएभ । रुस, युक्रेन र अमेरिकाबीच नयाँ चरणको शान्तिवार्ताको तयारी भइरहेका बेला शनिबार बिहान युक्रेनको राजधानी किएभमा रुसले क्षेप्यास्त्र आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा पाँच जना घाइते भएका छन् ।

युद्ध अन्त्य गर्ने उद्देश्यले तीन देशका वार्ताकारहरू आगामी मङ्गलबार संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबु धाबीमा भेट्ने तयारीमा छन् । गत फेब्रुअरीमा जेनेभामा भएको वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको मध्यस्थतामा हुन लागेको यो चौथो चरणको वार्ता हो ।

शान्ति प्रयासलाई समर्थन गरिरहेका पश्चिमी राष्ट्रहरूले क्षेत्रीय तथा सुरक्षा सम्बन्धी विषयहरू अझै टुङ्गोमा पुग्न नसकेको जनाउँदै वार्तामा देखिएको गतिरोध अन्त्य गर्ने उपाय खोजिरहेका छन् ।

राष्ट्रिय तथा स्थानीय अधिकारीहरूका अनुसार रातभरि गरिएको रुसी आक्रमणबाट किएभका आवासीय तथा व्यावसायिक भवनहरूमा क्षति पुगेको छ । आक्रमणपछि निप्रो नदीमाथिको एउटा पुलमा यातायात बन्द गरिएको छ भने विद्युत् तथा खानेपानी आपूर्तिमा समेत अवरोध सिर्जना भएको छ ।

किएभका मेयर भिताली क्लित्स्कोले रुसी आक्रमणबाट किएभ र झितोमिर क्षेत्रका ऊर्जा पूर्वाधारमा क्षति पुगेको बताएका छन् । उनका अनुसार राजधानीको ऊर्जा आपूर्ति अवस्था निकै कठिन बनेको छ । यसबाट सहरको ताप तथा खानेपानी वितरण प्रणालीसमेत प्रभावित भएको छ ।

यसैबीच, दक्षिणी युक्रेनको कोमिशुभाखा गाउँमा उद्धार तथा पुनःस्थापनाका काम जारी छन् । गत सोमबार उक्त गाउँस्थित पूर्वविद्यालय भवन र नजिकैको आश्रयस्थलमा रुसी निर्देशित बम खस्दा ठूलो जनधनको क्षति भएको थियो । आक्रमणका बेला स्थानीय बासिन्दा त्यहाँ मानवीय सहायता प्राप्त गर्न प्रतीक्षारत थिए ।

मानवीय सहायता वितरण केन्द्रका रूपमा प्रयोग हुँदै आएको पूर्वविद्यालय भवनमा भएको उक्त आक्रमणमा ५५ जनाको मृत्यु भएको थियो । शनिबार बिहान थप दुई जनाको शव फेला परेको छ भने दर्जनौँ व्यक्ति अझै बेपत्ता रहेको जनाइएको छ ।