वार्नरको अर्धशतकमा काठमान्डुले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य

​काठमाडौं । डेभिड वार्नरको अर्धशतकको मद्दतमा काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई १६१ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनायो । पहिलो विकेटका लागि डेभिड वार्नर र साहिल पटेलबीच शतकीय साझेदारी भए पनि मध्यक्रम र तल्लो क्रमका ब्याटर चल्न नसक्दा काठमान्डु ठूलो योगफल बनाउनबाट चुक्यो ।

काठमान्डुका लागि अस्ट्रेलियाली ब्याटर वार्नरले सर्वाधिक ६६ रन बनाए । उनले ५० बलमा ९ चौका र एक छक्का प्रहार गरे । त्यस्तै, साहिल पटेलले ३६ बलमा दुई चौका र दुई छक्कासहित ३८ रन जोडे । सहान अराचिगेले १५ बलमा तीन चौका र एक छक्काको मद्दतमा अविजित ३४ रन बनाए ।

वार्नर र पटेलले पहिलो विकेटका लागि १०४ रनको साझेदारी गरेका थिए । १२ ओभरमा कुनै विकेट नगुमाई १०० रन पूरा गरेको काठमान्डुले पटेललाई १४औँ ओभरमा गुमाएपछि लगातार विकेट गुमाउन थाल्यो ।

१६औँ ओभरको पाँचौँ बलमा शेर मल्लले सन्दीप जोराको हातबाट वार्नरलाई क्याच आउट गराए । त्यसपछि लुम्बिनीका बलर काठमान्डुमाथि हाबी भए ।

अभिषेष गौतमले १७औँ ओभरको सुरुवाती दुई बलमा कप्तान करण केसी र विलियम बोसिस्टोलाई आउट गरे । करणले ९ रन बनाए भने बोसिस्टो खाता नै नखोली पवेलियन फर्किए ।

त्यसपछि रसिद खान एक, जहान्दन खान ६, मोहम्मद आदिल आलम एक र सन्तोष यादव दुई रनमा आउट भए ।

लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यान, शेर मल्ल र अभिषेष गौतमले समान दुई विकेट लिए । गौतमले चार ओभरमा १५ रन तथा शेरले चार ओभरमा १९ रन खर्चिए । ट्रम्पलम्यानले तीन ओभरमा २४ रन दिए ।