म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ। मौसम अनुकूल बनेसँगै दसैँ–तिहारको बिदा मनाउन नेपाली तथा विदेशी पर्यटक उक्त क्षेत्रमा पुग्न थालेका हुन्।
आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर, पञ्चकुण्ड ताल र मौरिस हर्जोग पदमार्गमा पछिल्लो समय पर्यटकको आकर्षण बढ्दै गएको छ।
मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङका अनुसार दसैँपछि दैनिक करिब दुई सय नेपाली, भारतीय तथा तेस्रो मुलुकका पर्यटक आधार शिविरको भ्रमणमा पुगिरहेका छन्। गत असोजमा आएको मनसुनजन्य विपद्बाट पदमार्गमा ठूलो क्षति नपुगेको र क्षेत्र सुरक्षित रहेकाले बिदा मनाउन युवायुवती तथा रोजगारीमा संलग्न व्यक्तिहरूको रोजाइमा यो गन्तव्य परेको उनले बताए।
उनका अनुसार पर्यटकको चाप बढेसँगै पदमार्गका रेस्टुरेन्ट तथा क्याम्पहरू भरिभराउ भएका छन्। यसले बेनी, भुरुङ–तातोपानी र नारच्याङका पर्यटन व्यवसायीमा उत्साह थपेको छ।
समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। आधार शिविरको पारिवारिक भ्रमण सकेर बेनी फर्किएकी म्याग्दी बहुमुखी क्याम्पसकी प्राध्यापक मनिता रायमाझीले दुईदेखि तीन दिनमै पूरा गर्न सकिने यो यात्रा छोटो, साहसिक र रमणीय रहेको अनुभव सुनाइन्।
पर्यटकको सुविधाका लागि पदमार्गको हुमखोलादेखि आधार शिविरसम्म विभिन्न स्थानमा अस्थायी संरचना निर्माण गरी चिया तथा खाजा पसल र खानबस्नका लागि होटल सञ्चालनमा ल्याइएको छ। सन्धीखर्क, भुस्केट मेला र पञ्चकुण्ड ताल परिसरमा आश्रयस्थलसमेत निर्माण गरिएको छ।
त्यस्तै, हुमखोला, फुतफुते झरना, गुफाफाँट, भुस्केट र पञ्चकुण्ड क्षेत्रमा खानेपानी, शौचालयलगायतका पर्यटकीय पूर्वाधार तयार पारिएको छ। संघ, प्रदेश र गाउँपालिकाको बजेटबाट पदमार्ग तथा झोलुङ्गे पुलहरूको मर्मतसम्भारसमेत गरिएको छ।
आधार शिविरमा अन्नपूर्ण हिमालका पहिलो आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली सहयोगी सोनाम वाङ्चुक शेर्पाको सालिक स्थापना गरिएको छ। त्यहाँ खुला संग्रहालयसमेत सञ्चालनमा छ। गत साता पदमार्गको प्रवेशद्वार बाँसबोटमा पर्यटक सूचना केन्द्र स्थापना गरिएको अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले जानकारी दिए।
नेपालमा ‘जेठो हिमाल’का रूपमा चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने यस पदमार्गको नाम पहिलो आरोही मौरिस हर्जोगको नामबाट राखिएको हो।
नारच्याङको दोभान, छोटेपा हुँदै हुमखोलासम्म करिब २० किलोमिटर सवारीसाधनमा यात्रा गरेपछि त्यहाँबाट थप २१ किलोमिटर पैदल हिँडेर दुई दिनमा आधार शिविर पुग्न सकिन्छ। पदमार्गमा पर्ने फुतफुते झरना, आधार शिविर क्षेत्रको पञ्चकुण्ड ताल र वरपरका हिमाली दृश्यले पर्यटकलाई थप आकर्षित गर्ने गरेका छन्।






