६ दिनमा तीन हजार बढी पर्यटक सिक्लेस पुगे

पोखरा– पर्यटकीय याम सुरु भएसँगै कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ । पछिल्लो छ दिनमा मात्रै तीन हजारभन्दा बढी पर्यटकले सिक्लेसको भ्रमण गरेका छन् ।

मादी गाउँपालिका–१ का वडाध्यक्ष देविजङ्ग गुरुङका अनुसार नोभेम्बर १ देखि ६ तारिख (कात्तिक १५ देखि २० गते) सम्म तीन हजार १४६ जना पर्यटक सिक्लेस पुगेका छन् । यस अवधिमा दैनिक औसत ५२४ जना पर्यटक गाउँमा भित्रिएको उनले जानकारी दिए ।

सिक्लेस पुगेका अधिकांश पर्यटक गाउँमा केही समय बिताएपछि प्रख्यात पर्यटकीय गन्तव्य कोरी तथा हिमनदी तालक्हफुचेतर्फ पदयात्रामा जाने गरेका छन् ।

छ दिनको पर्यटक आगमन विवरणअनुसार कात्तिक १८ गते सबैभन्दा बढी ७१९ जना पर्यटक सिक्लेस पुगेका थिए । त्यस्तै, कात्तिक १५ गते सबैभन्दा कम २५४ जना पर्यटक गाउँमा भित्रिएका थिए ।

पर्यटकको आगमन बढेसँगै स्थानीय होटल तथा घरबास (होमस्टे) व्यवसायीमा उत्साह थपिएको वडाध्यक्ष गुरुङले बताए ।

पोखराबाट करिब ३८ किलोमिटरको दूरीमा रहेको सिक्लेसमा करिब ४०० घरधुरी छन् । गुरुङ समुदायको बाहुल्यता रहेको यो गाउँ प्राकृतिक सुन्दरता र मौलिक संस्कृति अवलोकनका लागि पर्यटकमाझ लोकप्रिय गन्तव्यका रूपमा परिचित छ ।