‘र’ प्रमुखसँग भेटबारे आफ्ना दलका नेतालाई ओलीको स्पष्टिकरण

कात्तिक १४, काठमाडौं ।
पछिल्लो समय भारतीय गुप्तचर विभाग ‘र’ प्रमुख सामन्तकुमार गोयलसँगको भेटघाटपछि प्रधानमन्त्री ओलीको सर्वत्र आलोचना भइरहेको छ । उनले यसबारे हालसम्म औपचारिक प्रतिक्रिया कतै नदिए पनि आफ्ना दलका कार्यकर्तालाई भने स्पष्टिकरण दिन थालेका छन् ।

गोयललाई बालुवाटारमा रातारात भेट गरेपछि विवादमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले यो भेटघाटबारे आफू नजिकका नेताहरुलाई ब्रिफिङ गर्न थालेका छन् । ओलीले आफ्ना अति नजिकका नेतालाई गरेको ब्रिफिङबारे जानकारी दिँदै नेकपाका एक ओलीपक्षीय केन्द्रीय नेताले भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दूत पठाउँछु भन्नुभएछ । को पठाउने भन्ने थाहै नभई रअका प्रमुख पो आएछन् !’

प्रधानमन्त्री ओलीले यो भेट कुनै गोप्य नभएको र त्यसको टिपोट विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईसँग रहेको आफूनिकट नेताहरुलाई बताएका छन् । प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘त्यो भेट केही पनि गोप्य होइन, राजन भट्टराईले सबै टिपोट गरेका छन्, मागेर हेर्दा हुन्छ ।’

प्रधानमन्त्री ओलीलाई भेट्न भारतीय गुप्तचर प्रमुख गोयलको टोली गत बुधबार दिउँसो विशेष विमानमा काठमाडौं आएको थियो । सोही दिन राति १० देखि १२ बजेसम्म प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भेट गरेर बिहीबार बिहान टोली दिल्ली फर्केको थियो ।

गुप्तचरको टोली बालुवाटार आएको मिडियाबाट ‘एक्स्पोज’ भएपछि विहीबार प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेस नोट जारी गरेर गुप्तचर प्रमुख सामन्तले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेको बताएका थिए ।

भेटको दुई दिनपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सामन्त गुप्तचर प्रमुखका रुपमा नभई मोदीको दूतका रुपमा भेट गर्न आएको सार्वजनिक प्रतिक्रिया दिएका थिए । भारतले नेपालको सीमा अतिक्रमण गरिरहेका बेला गुप्तचर प्रमुखलाई प्रधानमन्त्रीले निवासमै यसरी भेट गर्नु कूटनीतिक मर्यादा विपरीत रहेको भन्दै नेकपाभित्र र बाहिर दुबै ठाउँबाट सरकारको आलोचना भइरहेको छ ।

नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र कार्यकारी अध्यक्ष प्रचण्डले समेत यो भेटघाटप्रति असन्तुष्टि जनाएका छन् ।

प्रधानमन्त्री ओलीले भने विगतमा पनि यस्ता भेटघाटहरु हुने गरेका भन्दै यसलाई आपत्तिजनकरुपमा लिइन नहुने बताएको उनी निकट एक नेताले बताए ।