कात्तिक १४, पर्वत ।
कालीगण्डकीको खोँचमा द क्लिफ प्रालिले कातिक १५ गतेदेखि बन्जीजम्प सञ्चालनमा ल्याउने भएको छ ।
पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने पाँच सय मिटरको पुलमा बन्जी, स्वीङ र स्काइ साइक्लिङ लगायत साहसिक खेल भोलिबाट सञ्चालन हुने भएका छन् ।
२०७३ सालदेखि पुलको निर्माण सुरु गरिएको थियो । यसअघि पुलसँगै रिसोर्टको निर्माण २०७६ अन्तिममा सकिए पनि लकडाउनले गर्दा सञ्चालनमा आउन नसकेको द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।
कूल पाँच सय २५ मिटर लामो झोलुङ्गे पुलको बीचमा कालीगण्डकी नदीको ठिक माथि बन्जी र स्वीङको लागि जम्प गर्ने प्लाटफर्मको निर्माण गरिएको छ । खोलादेखि पुलको उचाई दुई सय २८ मिटर अर्थात सात सय ४८ फिट छ ।
हाल विश्वकै अग्लो बन्जी मकाउमा सात सय ६४ फिट उचाइ र दोश्रो अग्लो स्वीट्जरल्याण्डको भरजस्का बाँध माथि सात सय २० फिट उचाइमा छ । द क्लिफ प्रालिको यो परियोजनापछि स्विटरल्याण्डलाई पछि पार्दै यसले विश्वकै दोस्रो अग्लो बन्जीका रुपमा आफूलाई स्थापित गर्ने र यहाँको स्वीङ विश्वकै अग्लो बनेको अध्यक्ष कार्कीको भनाइ छ ।
बन्जी र स्वीङ दुबैको मूल्य ७ हजार रूपैयाँ तोकिएको छ । पोखरादेखि कुश्माको दुईतर्फी गाडीको सुबिधासहित बन्जी वा स्वीङको ८ हजार ४ सय ५० रुपैयाँ रहेको छ । टेण्डम (जोडी) स्वीङको १२ हजार छ । गुलेली शैलीको पिङ बन्जीका लागि निर्माण भएको पुलको उचाइ २ सय २८ मिटर छ भने सोभन्दा माथि बनाइएको पिङको उचाइ नदीबाट २ सय ४८ मिटर छ ।
यसको परिकल्पनाकार राजु कार्की र फोलोरेन्स कार्की हुन् । रिसोर्टसहित २० करोड लगानी रहेको यो पुलले बाग्लुङको पर्यटनमा धेरै परिवर्तन ल्याउने विश्वास लिएको उनीहरूले बताए । यो एसियाकै अग्लो स्थानको बञ्जिजम्प हो ।
सामान्य लठ्ठेपिङ खेलाउनका लागि समेत प्रयोग भएको प्रविधिले सबैलाई लोभ्याउँछ । २२८ मिटरको उचाइ, कालीगण्डकीले चिरेको पहाडका परिदृश्यमा स्काई साइकिलिङको विकल्प पनि यहाँ उपलब्ध छ ।
बन्जीजम्प गर्दा हिमालको दृश्य देखिने संसारकै एक मात्र स्थल यो रहेको सञ्चालक दाबी गर्छन् ।







