दक्षिण अफ्रिकामा एकै दिन भएका दुई छुट्टाछुट्टै गोलीकाण्डमा १७ जनाको मृत्यु

एजेन्सी । दक्षिण अफ्रिकामा आइतबार भएका दुई छुट्टाछुट्टै सामूहिक गोलीकाण्डमा कम्तीमा १७ जनाको मृत्यु भएको छ। करिब ५३६ किलोमिटरको दूरीमा भएका दुवै घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पिटरमारिट्जबर्ग सहरनजिकैको स्विटवाटरमा गोली प्रहारबाट क्षतिग्रस्त एउटा गाडीभित्र आठ जनाको शव फेला परेको थियो। मृतकहरूको पहिचान खुल्न सकेको छैन भने घटनामा संलग्न भएको आशंकामा हालसम्म कसैलाई पक्राउ गरिएको छैन।

त्यस्तै, राजधानी प्रिटोरियानजिकै जेफ्सभिलस्थित एक अनौपचारिक बस्तीको झुपडीमा नौ जनाको शव फेला परेको छ। आइतबार राति भएको उक्त घटनामा छ पुरुष र तीन महिला मारिएका प्रहरीले जनाएको छ। मृतकमध्ये बालबालिका पनि छन् वा छैनन् भन्नेबारे भने प्रहरीले पुष्टि गरेको छैन।

दुवै घटनाको अनुसन्धान भइरहेको छ। जेफ्सभिलमा भएको घटनाको अनुसन्धान गौतेङ प्रान्तको गम्भीर तथा हिंसात्मक अपराध, हत्या र लुटपाटसम्बन्धी प्रहरी एकाइले गरिरहेको छ।

गौतेङका प्रहरी आयुक्त टमी एमथोम्बेनीले पछिल्ला हत्याहरू गत वर्ष साउल्सभिलनजिकैको अर्को अनौपचारिक बस्तीमा भएको सामूहिक गोलीकाण्डसँग सम्बन्धित हुन सक्ने बताएका छन्। उक्त घटनामा १२ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए।

उनले यी घटनाहरू आपसमा जोडिएको हुन सक्ने र बदलाको भावनाबाट आक्रमण गरिएको सम्भावनालाई पनि अस्वीकार गर्न नसकिने बताएका छन्।

दक्षिण अफ्रिकामा पछिल्लो समय आपराधिक गिरोहसँग सम्बन्धित सामूहिक गोलीकाण्डका घटना बढ्दै गएका छन्।

गत सेप्टेम्बरमा तटीय सहर डर्बननजिकैको एक गरिब बस्तीमा तीन जना बन्दुकधारीले घरभित्र प्रवेश गरी पार्टीमा सहभागीहरूमाथि अन्धाधुन्ध गोली चलाएका थिए। उक्त घटनामा गर्भवती महिलासहित कम्तीमा ११ जनाको मृत्यु भएको थियो।

त्यस्तै, गत जुनमा जोहानेसबर्गको एक गरिब बस्तीमा भएको गोलीकाण्डमा १२ जनाले ज्यान गुमाएका थिए। प्रहरीले उक्त घटनालाई पनि आपराधिक गिरोहसँग जोडेको थियो।

यसअघि गत वर्ष डिसेम्बरमा दुई साताको अन्तरालमा भएका दुई छुट्टाछुट्टै सामूहिक गोलीकाण्डमा २१ जनाको मृत्यु भएको थियो। ती घटनामा पनि धेरै बन्दुकधारी संलग्न रहेको बताइएको थियो।