रसुवा । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधताले भरिपूर्ण हिमाली जिल्ला रसुवामा थुप्रै पर्यटकीय गन्तव्य रहेका छन् । गोसाईंकुण्ड र पार्वतीकुण्डजस्ता प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलले स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्दै आए पनि यहाँका कतिपय सुन्दर स्थान अझै ओझेलमा छन् । यस्तै सम्भावना बोकेको नयाँ पर्यटकीय गन्तव्य हो, डिल्पु कुण्ड ।
समुद्री सतहबाट करिब चार हजार ५५० मिटर उचाइमा रहेको डिल्पु कुण्ड आमाछोदिङ्मो गाउँपालिकाअन्तर्गत साञ्जेन हिमालको काखमा अवस्थित छ । स्थानीयवासीले यसलाई पाल्दोर कुण्डका नामले समेत चिन्ने गरेका छन् ।
हिमालबाट निरन्तर पानी भरिने यस कुण्डको पानी स्वच्छ, पारदर्शी र अत्यन्त चिसो छ । कुण्ड वरिपरि फैलिएका अल्पाइन घाँसेमैदान, चट्टानी भूभाग र हिमाली वनस्पतिले यस क्षेत्रको प्राकृतिक सुन्दरता थप आकर्षक बनाएका छन् । विशेषगरी गर्मीयाममा फुल्ने दुर्लभ हिमाली फूल तथा मौसम खुलेका बेला देखिने आसपासका हिमशृङ्खलाले प्रकृतिप्रेमीलाई लोभ्याउने गर्दछ ।
प्राकृतिक आकर्षणसँगै डिल्पु कुण्ड धार्मिक तथा सांस्कृतिक दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ । स्थानीय तामाङ समुदायले यसलाई पवित्र तीर्थस्थलका रूपमा सम्मान गर्दै आएका छन् । लिखित ऐतिहासिक अभिलेख उपलब्ध नभए पनि पुस्तौँदेखि चल्दै आएका मौखिक जनश्रुतिले यस स्थानको धार्मिक महत्त्वलाई जीवन्त राखेको छ । विभिन्न पर्व तथा विशेष अवसरमा स्थानीयवासी यहाँ पुगेर पूजाआजा र धार्मिक अनुष्ठान गर्ने गर्दछन् ।
डिल्पु कुण्ड पुग्न काठमाडौँबाट सडकमार्ग हुँदै रसुवाको सदरमुकाम धुन्चे र त्यहाँबाट चिलिमेसम्म पुग्न सकिन्छ । चिलिमेबाट स्थानीय पदमार्ग हुँदै साञ्जेन क्षेत्र पुगेर पैदल यात्रा गरेपछि कुण्डमा पुग्न सकिन्छ । उच्च हिमाली क्षेत्रमा पर्ने भएकाले यात्राअघि मौसम र पदमार्गको अवस्था बुझ्नुका साथै स्थानीय पथप्रदर्शकको सहयोग लिन आवश्यक हुन्छ ।
यस क्षेत्रको भ्रमणका लागि वैशाख, जेठ तथा असोज–कात्तिक महिना उपयुक्त मानिन्छ । यी महिनामा मौसम अनुकूल र आकाश सफा हुने भएकाले कुण्ड तथा हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । हिउँदमा अत्यधिक चिसो र हिमपातका कारण यात्रा कठिन हुने गर्दछ ।
पर्यटकीय सम्भावना प्रचुर भए पनि डिल्पु कुण्डमा आवश्यक पूर्वाधारको अभाव छ । पदमार्गमा पर्याप्त सङ्केत बोर्ड नहुनु, खानेपानी तथा बासस्थानको उचित व्यवस्था नहुनु र फोहर व्यवस्थापन प्रभावकारी नहुनु यस क्षेत्रका प्रमुख चुनौती हुन् ।
रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले डिल्पु कुण्डजस्ता ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न सके रसुवाको पर्यटन विकासमा नयाँ आयाम थपिने बताए ।
उनले डिल्पु कुण्डलाई नजिकै रहेको पार्वतीकुण्ड तथा साञ्जेन क्षेत्रका अन्य प्राकृतिक र सांस्कृतिक सम्पदासँग जोडेर एकीकृत पदमार्गका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
“यस्ता लुकेका गन्तव्यमा आधारभूत पूर्वाधार निर्माण, पदमार्ग सुधार र पर्याप्त प्रचारप्रसार गर्न सके स्वदेशी तथा विदेशी पर्यटकको बसाइ अवधि लम्ब्याउन सकिन्छ”, अध्यक्ष न्यौपानेले भने, “यसबाट स्थानीय अर्थतन्त्र चलायमान हुनुका साथै रोजगारी सिर्जना र सांस्कृतिक संरक्षणमा समेत योगदान पुग्ने भएकाले स्थानीय तह, पर्यटन व्यवसायी र समुदायबीच सहकार्य आवश्यक छ ।”
आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले गाउँपालिकाभित्र रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण र प्रवर्द्धनलाई स्थानीय सरकारले प्राथमिकतामा राखेको बताए ।
उनले डिल्पु कुण्डको प्राकृतिक तथा सांस्कृतिक महत्त्व संरक्षण गर्दै पदमार्ग व्यवस्थापन, सङ्केत बोर्ड स्थापना र आवश्यक आधारभूत पूर्वाधार निर्माणका लागि योजनाबद्ध रूपमा काम अघि बढाइने जानकारी दिए ।
“पर्यटन व्यवसायी र स्थानीय समुदायसँगको सहकार्यमा यस क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न गाउँपालिका प्रतिबद्ध छ”, अध्यक्ष तामाङले भने ।
स्थानीय मौलिकता, प्राकृतिक सम्पदा र धार्मिक आस्थाको संगम बनेको डिल्पु कुण्डको व्यवस्थित प्रवर्द्धन गर्न सके रसुवाको पर्यटन नक्सामा नयाँ गन्तव्य थपिनुका साथै स्थानीय समुदायको आर्थिक समृद्धिमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।





