विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना

म्याग्दी । मनसुनजन्य विपद्का कारण म्याग्दीका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन, प्रसारण तथा निर्माण कार्य प्रभावित भएको छ । कालीगण्डकी र म्याग्दी नदी तथा तिनका सहायक खोलामा आएको बाढीपहिरोले सञ्चालनमा रहेका र निर्माणाधीन आयोजनाका बाँध, विद्युत् गृह, सुरुङ, प्रसारण लाइन र पहुँचमार्गमा क्षति पुर्‍याएको हो ।

बाढीपहिरोका कारण केही आयोजना पूर्ण रूपमा बन्द भएका छन् भने केहीको परीक्षण उत्पादन र निर्माण कार्य प्रभावित भएको छ । निर्माणस्थलसम्म निर्माण सामग्री तथा उपकरण ढुवानी गर्न कठिनाइ भएपछि आयोजनाको काम सुस्त बनेको छ । यसले आयोजना सम्पन्न हुने समय लम्बिनुका साथै लागतसमेत बढ्ने जोखिम सिर्जना गरेको छ ।

कालीगण्डकी नदीको कटानले २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गत दाना–खुर्कोट प्रसारण लाइनका तीनवटा टावर बगाएको छ । अन्नपूर्ण गाउँपालिका–१ दोबाका दुई र रातोपानीको एउटा टावर बगाएको हो । धिरच्याङस्थित टावरमा आंशिक क्षति पुगेको छ भने तिप्ल्याङ क्षेत्रको अर्को टावरसमेत जोखिममा परेको छ ।

प्रसारण लाइन अवरुद्ध हुँदा उत्तरी म्याग्दीका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न समस्या भएको थियो । नेपाल विद्युत् प्राधिकरणको पोखरास्थित ग्रिड कार्यालयका प्रमुख रोशन खड्काका अनुसार भिरकाटेमा अस्थायी टावर निर्माण गरी करिब दुई किलोमिटर तार तानेर गत असोज ३१ गतेदेखि विद्युत् आपूर्ति पुनः सञ्चालन गरिएको हो । क्षतिग्रस्त टावर तथा प्रसारण लाइनको स्थायी पुनर्निर्माण प्रक्रिया अघि बढाइएको उनले बताए ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका घलेम्दीखोला, म्रिस्त्रीखोला, निलगिरी–१, निलगिरी–२ र रेलेखोलाका साथै मुस्ताङस्थित थापाखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् यही प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोडिँदै आएको छ ।

बाढीपहिरोले अन्नपूर्ण गाउँपालिकाका दुई जलविद्युत् आयोजना बन्द भएका छन् । रेलेखर्क क्षेत्रबाट आएको बाढीले बाँधमा गेग्रान थुपारेपछि छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बन्द भएको आयोजनाका प्रतिनिधि होमनाथ पाण्डेले बताए ।

त्यस्तै, १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृह गत साउन २६ गतेको सुक्खा पहिरोले पुरिएको थियो । त्यसपछि असोजमा आएको बाढीपहिरोले बाँधमा थप क्षति पुर्‍याएको छ । विद्युत् गृह पुरिँदा एक जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए ।

आयोजनाको पुनर्निर्माणको तयारी भइरहेको र प्रारम्भिक मूल्याङ्कनअनुसार एक अर्ब रुपैयाँभन्दा बढी क्षति भएको म्याग्दी हाइड्रोपावरका प्रशासन प्रमुख अनिल तिवारीले जानकारी दिए ।

यसैगरी, कालीगण्डकी बेसीनमा निर्माणाधीन १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज र ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको निर्माण कार्य डेढ महिनादेखि प्रभावित भएको छ ।

कालीगण्डकी गर्जको मुस्ताङस्थित घाँसाको थाप्लामा रहेको बाँध निर्माणस्थलमा बाढीले गेग्रान थुपारेपछि निर्माण कार्य रोकिएको आयोजनाका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठले बताए ।

मध्यकालीगण्डकी आयोजनाको सुकेबगरस्थित बाँध, सुरुङ, आवास भवन, मेसिनरी, उपकरण, निर्माण सामग्री तथा डिजेल ट्याङ्करमा बाढीले क्षति पुर्‍याएको प्रवर्द्धक हाइड्रो सपोर्ट प्रालिको लगानीकर्ता आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

बाढीले निर्माणस्थलको डाइभर्सन भत्काउनुका साथै नागढुङ्गा र रातोपानीस्थित आवास भवन तथा नौलीबगरको पहुँचमार्गमा समेत क्षति पुर्‍याएको छ ।

रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित विद्युत् गृह क्षेत्रमा कालीगण्डकी नदीको कटानले क्षति पुर्‍याउँदा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको परीक्षण अवधि लम्बिएको छ । टेलरेस गेट र स्वीचयार्ड नजिकको संरचनामा क्षति पुग्नुका साथै विद्युत् गृहमा पानी पसेर डुबान भएको थियो ।

हाल २०/२० मेगावाट क्षमताका दुईवटा युनिट आलोपालो सञ्चालन गरेर परीक्षण उत्पादन भइरहेको आयोजनाका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए ।

म्याग्दीखोला बेसीनमा निर्माणाधीन जलविद्युत् आयोजनाहरू पनि पहुँचमार्ग र ढुवानी समस्याबाट प्रभावित भएका छन् । घुमाउने, बालौटे, बाङ्गेपहिरो, इल्पु र शिवरात्रि खोलामा आएको बाढीपहिरोका कारण निर्माण सामग्री तथा उपकरण ढुवानीमा समस्या भएको अपर म्याग्दीखोला–१ का आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए ।

कुल ६० प्रतिशत भौतिक प्रगति भएको माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाको निर्माण कार्यसमेत प्रभावित भएको छ । दरखोलालगायतका आयोजनामा पुग्ने सडकका विभिन्न स्थानमा पहिरो खसेपछि निर्माण सामग्री ढुवानी गर्न कठिनाइ भएको छ ।

यद्यपि, राहुघाट करिडोरअन्तर्गतका अपर राहुघाट, मङ्गले–चिमखोला–राहुघाट, अपर ठूलोखोला र ठूलोखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन भने नियमित रहेको छ ।

बाढीपहिरोले जलविद्युत् आयोजनाका मुख्य संरचनामा मात्र नभई प्रसारण लाइन, पहुँचमार्ग, निर्माण सामग्री भण्डारणस्थल र कामदारका आवास संरचनामा समेत जोखिम बढाएको छ ।

जलविद्युत् क्षेत्रमा बढ्दो लगानी र पूर्वाधारको सुरक्षाका लागि नदी कटान नियन्त्रण, सुरक्षित तटबन्ध निर्माण, वैकल्पिक पहुँचमार्गको व्यवस्था, प्रसारण टावरको संरक्षण तथा प्रभावकारी विपद् पूर्वतयारीलाई आयोजना निर्माण र सञ्चालनको अभिन्न हिस्सा बनाउनुपर्ने आवश्यकता यस घटनाले औँल्याएको छ ।