भारतबाट ३५० मेगावाट विद्युत् आयात, ५६ मेगावाट निर्यातको अनुमति

काठमाडौं – नेपालले आगामी हिउँदमा भारतबाट ३५० मेगावाटसम्म विद्युत् आयात गर्न पाउने भएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा विनिमय बजार (आईईएक्स) बाट प्रतिस्पर्धी मूल्यमा बिजुली खरिद गर्न अनुमति दिएको हो ।

नेपाल विद्युत् प्राधिकरणले सन् २०२६ नोभेम्बर १७ देखि २०२७ जुलाई ३१ सम्म विद्युत् आयात गर्न सक्नेछ । अनुमति अनुसार आईईएक्सको डे–अहेड र रियल टाइम बजारबाट दैनिक १७ घण्टासम्म बिजुली खरिद गर्न पाइनेछ ।

बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्म भने विद्युत् आयात गर्न पाइने छैन । प्राधिकरणले कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनबाट ३०० मेगावाट तथा न्यू नौतनवा–मैनहिया १३२ केभी प्रसारण लाइनबाट थप ५० मेगावाट विद्युत् आयात गर्न सक्नेछ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले भारतबाट ३५० मेगावाट विद्युत् आयातको अनुमति प्राप्त भएकाले आगामी हिउँदमा माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सहज हुने बताए ।

रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीका कारण जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेपछि ४३१ मेगावाट जडित क्षमताका आयोजनाहरू राष्ट्रिय विद्युत् प्रणालीबाट विच्छेद भएका छन् । यस अवस्थालाई समेत मध्यनजर गर्दै हिउँदको विद्युत् माग व्यवस्थापनका लागि आवश्यक तयारी गरिएको श्रेष्ठले बताए ।

गत वर्षको विद्युत् माग र उत्पादनको अवस्थालाई आधार मानेर गरिएको प्रक्षेपणअनुसार यस वर्ष पुसदेखि चैतसम्म चार महिना आन्तरिक उत्पादनले माग धान्न नसक्ने अनुमान छ । उक्त अवधिमा भारतबाट विद्युत् आयात गर्नुपर्ने प्राधिकरणको आकलन छ ।

विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाटसम्म विद्युत् आयात गर्नुपर्ने अनुमान गरिएको छ । विद्युत्को उच्च माग हुने समयमा भने आयातको परिमाण दैनिक ८०० देखि ९०० मेगावाटसम्म पुग्न सक्ने प्राधिकरणको प्रक्षेपण छ ।

पुस र चैतमा भने तुलनात्मक रूपमा कम विद्युत् आयात गरे पुग्ने अनुमान छ । आगामी वैशाखदेखि नदीहरूमा पानीको बहाव बढ्दै जाने र जलविद्युत् उत्पादनमा वृद्धि हुने भएकाले विद्युत् आयात घट्दै जाने तथा निर्यातसमेत सुरु हुने अपेक्षा गरिएको छ ।

तीन जलविद्युत् आयोजनाको ५६ मेगावाट विद्युत् निर्यात गर्न अनुमति

यसैबीच, नेपाल विद्युत् प्राधिकरणले तीनवटा जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ ।

प्राधिकरणले सन् २०२६ नोभेम्बर १७ देखि २०२७ जुलाई ३१ सम्म उक्त विद्युत् निर्यात गर्न सक्नेछ ।

हिउँदमा भारतबाट विद्युत् आयात गर्नुपर्ने भए पनि वर्षायाम नजिकिँदै जाँदा नदीहरूमा पानीको बहाव बढ्ने र आन्तरिक उत्पादनमा सुधार आउने प्राधिकरणको अनुमान छ । उत्पादन वृद्धि भएसँगै आयात प्रतिस्थापन गर्दै पुनः भारतमा विद्युत् निर्यात गर्न सकिने अपेक्षा गरिएको छ ।