काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले दोस्रो पटक फाइनलमा स्थान सुरक्षित गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १०५ रनको सामान्य लक्ष्य लुम्बिनीले १६ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
लुम्बिनीको जितमा निरोशन डिकवेलाले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ५९ रन बनाए । उनले ३७ बलमा ३ छक्का र ७ चौका प्रहार गरे । कप्तान रोहितकुमार पौडेलले २१ रनको योगदान दिए ।
बलिङतर्फ सुदूरपश्चिमका थरिन्दु रत्नायकेले २ विकेट लिए भने स्कट कुगेलेन र हेमन्त धामीले समान १ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०४ रन बनाएको थियो ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ रन बनाए । उनले ५१ बलमा १ छक्का र ३ चौका प्रहार गरे । यस्तै इशान पाण्डेले ३३ बलमा २७ रन जोडे । यी दुईबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
लुम्बिनीका रुवेन ट्रम्पलमेन र शेर मल्लले समान २ विकेट लिए भने अभिषेक गौतम र किशोर महतोले समान १ विकेट लिए ।
जितसँगै लुम्बिनी लगातार दोस्रो पटक एनपीएलको फाइनलमा पुगेको छ । पराजित सुदूरपश्चिमले भने अब दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको छ ।
दोस्रो क्वालिफायरमा सुदूरपश्चिमले इलिमिनेटर विजेता चितवन राइनोज वा काठमाडौं गोर्खाजसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलको विजेताले उपाधिका लागि शनिबार लुम्बिनीसँग प्रतिस्पर्धा गर्नेछ ।





