काठमाडौं । नेपाल राष्ट्र बैंकको खुद नाफा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षको तुलनामा ३ अर्ब रुपैयाँभन्दा बढीले वृद्धि भएको छ । विदेशी विनिमय सञ्चितिमा भएको उल्लेख्य वृद्धिसँगै त्यसबाट प्राप्त ब्याज आम्दानी बढेपछि केन्द्रीय बैंकको नाफामा सुधार आएको हो ।
राष्ट्र बैंकले गत आर्थिक वर्षमा ८३ अर्ब ५६ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको ८० अर्ब ४८ करोड रुपैयाँको तुलनामा ३.८४ प्रतिशत बढी हो ।
विदेशी मुद्राको खुद ब्याज आम्दानीमा भएको वृद्धिले राष्ट्र बैंकको नाफा बढाउन मुख्य भूमिका खेलेको छ । गत आवमा केन्द्रीय बैंकले विदेशी मुद्राबाट १ खर्ब १६ अर्ब ६२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो आवको ९४ अर्ब ८१ करोड रुपैयाँको तुलनामा करिब २३ प्रतिशत बढी हो ।
रेमिट्यान्स आप्रवाह र आयातमा भएको सुधारसँगै विदेशी विनिमय सञ्चिति निरन्तर बढ्दै गएको छ । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति ४५.६ प्रतिशतले बढेर २०८३ असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।
तर, वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था कायम रहँदा स्वदेशी मुद्राबाट हुने ब्याज आम्दानी भने घटेको छ । गत आवमा स्वदेशी मुद्रामा केन्द्रीय बैंकको खुद ब्याज आम्दानी २२ अर्ब रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो आवमा यस्तो नोक्सानी ७ अर्ब ७६ करोड रुपैयाँ थियो ।
यसैगरी, सुनचाँदीको मूल्यमा भएको परिवर्तनबाट राष्ट्र बैंकले ७१ अर्ब ७१ करोड रुपैयाँ लाभ प्राप्त गरेको छ । विदेशी विनिमय दरमा भएको उतारचढावका कारण २ खर्ब ५४ अर्ब ८३ करोड रुपैयाँ बराबरको पुनर्मूल्यांकन लाभ भएको केन्द्रीय बैंकले जनाएको छ ।
यद्यपि, सुनचाँदी तथा विदेशी विनिमयको मूल्यमा भएको परिवर्तनबाट देखिएको लाभ तत्काल नगदमा प्राप्त भएको नाफा भने होइन । यो एक वर्षको अवधिमा सम्पत्तिको मूल्यांकनमा आएको परिवर्तनबाट देखिएको लाभ हो ।
सरकारलाई ४२ अर्ब रुपैयाँ हस्तान्तरण गर्ने
राष्ट्र बैंकले गत आवको खुद नाफाबाट विभिन्न कानुनी दायित्व तथा सञ्चिति कोषमा रकम छुट्याएपछि बाँकी रहेको ४२ अर्ब रुपैयाँ सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले सरकारलाई ४२ अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । मौद्रिक दायित्व सञ्चिति, वित्तीय स्थायित्व दायित्व सञ्चिति, खुला बजार स्थिरीकरण कोष, बैंकिङ विकास कोष तथा सुन प्रतिस्थापन कोषलगायतमा तोकिएको रकम छुट्याएपछि उक्त रकम बाँकी रहेको हो ।
अघिल्लो आर्थिक वर्षमा पनि राष्ट्र बैंकले सरकारलाई ४२ अर्ब रुपैयाँ नै नाफा हस्तान्तरण गरेको थियो ।
मुद्रास्फीति घट्यो, आयात–निर्यात दुवै बढे
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.०८ प्रतिशत कायम भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो मुद्रास्फीति ४.०६ प्रतिशत थियो ।
गत आवमा कुल वस्तु निर्यात १३.८ प्रतिशतले वृद्धि भई ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, वस्तु आयात १६.२ प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।
यस अवधिमा चालु खाता ९ खर्ब २३ अर्ब ५६ करोड रुपैयाँ र शोधनान्तर स्थिति १० खर्ब २७ अर्ब ४ करोड रुपैयाँ बचतमा रहेको छ ।
२०८३ असार मसान्तमा कायम विदेशी विनिमय सञ्चितिले २३ महिनाको वस्तु आयात र १९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ ।
सरकारी राजस्वभन्दा खर्च बढी
गत आर्थिक वर्षमा नेपाल सरकारले अन्य प्राप्तिसमेत गरी १२ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । सोही अवधिमा सरकारको कुल खर्च १५ खर्ब ८२ अर्ब १७ करोड रुपैयाँ रहेको छ ।
यसैगरी, गत आवमा विस्तृत मुद्राप्रदाय १३.४ प्रतिशत र संकुचित मुद्राप्रदाय १७.९ प्रतिशतले वृद्धि भएको छ । कुल आन्तरिक कर्जा २.१ प्रतिशत तथा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.६ प्रतिशतले बढेको छ ।
कर्जा र निक्षेप सुरक्षण २२ खर्बभन्दा बढी
निक्षेप तथा कर्जा सुरक्षण कोषले २०८३ असार मसान्तसम्म ३ खर्ब ६९ अर्ब ५५ करोड रुपैयाँ बराबरको कर्जा र १८ खर्ब ५७ अर्ब १७ करोड रुपैयाँ बराबरको निक्षेप सुरक्षण गरेको राष्ट्र बैंकले जनाएको छ ।
कर्जा सूचना केन्द्रबाट गत आवमा २० वाणिज्य बैंक, एक पूर्वाधार विकास बैंक, १७ विकास बैंक, १६ वित्त कम्पनी, ५० लघुवित्त वित्तीय संस्था र १० हायर पर्चेज कम्पनीले गरी ६७ लाख ४ हजार ३५० कर्जासम्बन्धी सूचना माग गरेका थिए ।
२०८३ असार मसान्तसम्म केन्द्रको कालोसूचीमा सूचीकृत ऋणीको संख्या १ लाख ७० हजार ७९३ पुगेको छ ।
विदेशी विनिमय सञ्चितिमा २३ अर्ब अमेरिकी डलर लगानी
राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तसम्म विदेशी विनिमय सञ्चिति लगानी २३ अर्ब १३ करोड अमेरिकी डलर बराबर रहेको छ ।
केन्द्रीय बैंकले विदेशी विनिमय सञ्चितिलाई विभिन्न बैंकमा आवधिक निक्षेप, सुन, केन्द्रीय बैंकबाट जारी हुने ट्रेजरी बिल्स, नोट्स तथा बन्ड्स र बैंक फर इन्टरनेसनल सेटलमेन्ट्सले जारी गरेका वित्तीय उपकरणमा लगानी गरेको छ ।
गत आर्थिक वर्षमा विभिन्न दरका ८ करोड ४२ लाख ५० हजार थान नयाँ नोट चलनचल्तीका लागि निष्कासन गरिएको थियो । ती नोटको कुल मूल्य ४६ अर्ब १० करोड १५ लाख रुपैयाँ रहेको छ ।
२०८३ असार मसान्तसम्म विभिन्न दरका गरी कुल ८ खर्ब ७ अर्ब ६९ करोड रुपैयाँ बराबरका नोट चलनचल्तीमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यसैबीच, २०८३ असार मसान्तमा राष्ट्र बैंकको कुल सम्पत्ति तथा दायित्व ३८ खर्ब ७४ अर्ब ८२ करोड १० लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको असार मसान्तको तुलनामा ४५.०६ प्रतिशतले बढी हो ।





