काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एकीकृत विपद् सूचना प्रणालीलाई स्थानीय तह र जिल्लास्तरसम्म विस्तार गर्ने योजना अघि बढाएको छ।
टर्किएमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत आयोजित प्यानल छलफलमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले यस्तो योजना सार्वजनिक गर्नुभएको हो।
उनका अनुसार प्राधिकरणले सञ्चालन गरिरहेको एकीकृत डाटा पोर्टलमा सबै प्रकारका जोखिम तथा विपद्सम्बन्धी सूचना समेटेर बृहत् विपद् सूचना प्रणाली निर्माण गर्ने तयारी भइरहेको छ।
‘अनुकूलन र क्षति तथा नोक्सानीका लागि अझ राम्रो दिगो विकास लक्ष्यसम्बन्धी तथ्याङ्क’ विषयक छलफलमा उनले हालको विपद् पोर्टलमार्फत नेपालमा हुने अधिकांश प्रकोपको विवरण तथा तथ्याङ्क प्राप्त गर्न सकिने बताए। उक्त तथ्याङ्क निर्णय सहयोग प्रणाली (डिसिजन सपोर्ट सिस्टम–डिएसएस) मा समेत प्रयोग भइरहेको उनले जानकारी दिए।
स्थानीय तहमा सङ्कलन भएका विपद्सम्बन्धी तथ्याङ्क जिल्लामार्फत केन्द्रमा आइपुग्ने गरेको उल्लेख गर्दै उहाँले पोर्टल राष्ट्रिय अनुकूलन योजना (एनएपी) कार्यान्वयनमा समेत उपयोगी बनेको बताए।
उनले भने, “विपद्को अवस्था थाहा पाउन र कुन प्रकोपबाट कति नागरिक प्रभावित भए भन्ने जानकारी प्राप्त गर्न पोर्टलको प्रयोग भइरहेको छ। आगामी दिनमा यसमा सेतु एपसमेत एकीकृत गरी बृहत् विपद् सूचना केन्द्र बनाउने योजना छ।”
हाल प्राधिकरणको विपद् पोर्टलमा विपद्का घटना, जोखिम तथा क्षतिसम्बन्धी विवरण उपलब्ध छन्। सेतु एपलाई समेत पोर्टलमा जोडेर विपद्सम्बन्धी सूचना र तथ्याङ्क एकीकृत रूपमा उपलब्ध गराउने प्राधिकरणको लक्ष्य छ।
दिगो विकास लक्ष्य (एसडिजी) प्याभिलियनमा आयोजित उक्त छलफल संयुक्त राष्ट्रसङ्घीय विपद् जोखिम न्यूनीकरण कार्यालय (युएनडिआरआर), विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ), संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युएनइपी) को आयोजनामा भएको थियो।





