काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्ने उद्देश्यले विभिन्न देशका विश्वविद्यालय तथा अनुसन्धान संस्थासँग समन्वय गर्न ‘कन्ट्री फोकल पर्सन’ नियुक्तिका लागि आवेदन माग गरेको छ ।
त्रिविको अन्तरराष्ट्रिय सम्बन्ध केन्द्रले स्थायी प्राध्यापकहरूमध्येबाट उक्त जिम्मेवारीमा नियुक्त गर्ने प्रक्रिया अघि बढाउँदै आशयपत्र माग गरेको हो । उपकुलपतिबाट नियुक्त हुने कन्ट्री फोकल पर्सनले सम्बन्धित देशका विश्वविद्यालयसँग भएका पुराना सम्झौता कार्यान्वयनमा ल्याउने तथा नयाँ सहकार्यका अवसर खोज्ने जिम्मेवारी पाउनेछन् ।
नियुक्त हुने प्राध्यापकले संयुक्त अनुसन्धान, विद्यार्थी तथा प्राध्यापक आदानप्रदान कार्यक्रमलाई प्रवर्द्धन गर्ने, अनुसन्धानका लागि आर्थिक स्रोत जुटाउने र विदेशी विद्यार्थीलाई त्रिविमा अध्ययनका लागि आकर्षित गर्न सहजीकरण गर्नुपर्नेछ ।
त्रिविका अनुसार इच्छुक प्राध्यापकले आगामी मङ्सिर १० गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । आवेदनसँगै आफ्नो व्यक्तिगत विवरण, अन्तरराष्ट्रिय शैक्षिक अनुभव र आगामी दुई वर्षमा गर्ने कामको स्पष्ट कार्ययोजना पेस गर्नुपर्नेछ ।
प्राप्त आवेदनमध्ये सम्बन्धित देशसँगको पूर्वसम्पर्क, अन्तरराष्ट्रिय अनुभव तथा शैक्षिक सहकार्य विस्तार गर्न सक्ने क्षमताका आधारमा उपयुक्त प्राध्यापक छनोट गरिने त्रिविले जनाएको छ ।





