हिउँदमा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति

काठमाडौं: नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदयामका लागि भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्ने अनुमति पाएको छ। भारतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आइएक्स) को डे-अहेड र रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् खरिद गर्न स्वीकृति दिएको हो।

प्राधिकरणका अनुसार मङ्सिर १ देखि आगामी साउन १५ गतेसम्म यो सुविधा उपलब्ध हुनेछ। यसअन्तर्गत दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न पाइनेछ। बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मको समयबाहेक अन्य समयमा विद्युत् आयात गर्न सकिनेछ। कटैया-कुशाहा, रामनगर-सुरजपुरा र रक्सौल-परवानीपुर १३२ केभी प्रसारण लाइनबाट ३०० मेगावाट तथा न्यु नौतनिया-मैनहिया १३२ केभी लाइनबाट ५० मेगावाट गरी कुल ३५० मेगावाट विद्युत् आयातको अनुमति प्राप्त भएको हो।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले यस अनुमतिले हिउँदमा विद्युत् माग र आपूर्ति व्यवस्थापन गर्न सहज हुने बताउनुभयो। रसुवास्थित भोटेकोशी क्षेत्रमा आएको हिमबाढीका कारण ४३१ मेगावाट क्षमताका जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेपछि राष्ट्रिय प्रणालीबाट विद्युत् विच्छेद भएको थियो। सोही अवस्थालाई मध्यनजर गर्दै प्राधिकरणले हिउँदको तयारी गरेको हो।

प्राधिकरणको विश्लेषणअनुसार पुस, माघ, फागुन र चैत महिनामा आन्तरिक उत्पादनभन्दा माग बढी हुने अनुमान छ। विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाट र उच्च मागको समयमा ८०० देखि ९०० मेगावाटसम्म आयात गर्नुपर्ने अवस्था आउन सक्ने प्राधिकरणले जनाएको छ। वैशाखदेखि नदीमा पानीको बहाब बढेसँगै आन्तरिक उत्पादन वृद्धि भई निर्यात सुरु हुने अपेक्षा गरिएको छ। यसका अतिरिक्त प्राधिकरणले तीन वटा जलविद्युत् आयोजनाबाट उत्पादित ५६ मेगावाट विद्युत् भारतमा निर्यात गर्ने अनुमतिसमेत पाएको छ।