काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तिम चरणमा पुगेको छ । उपाधि विजेताको टुङ्गो लाग्न अब तीन खेल मात्रै बाँकी छन् । प्रतियोगितामा सहभागी टोलीका कप्तानको व्यक्तिगत प्रदर्शन विश्लेषण गर्दा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी सबैभन्दा प्रभावशाली देखिएका छन् ।
ऐरीले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिमलाई प्लेअफसम्म पुर्याउन महत्त्वपूर्ण योगदान दिएका छन् । उनले आठ खेलमा तीन अर्धशतकसहित २०२ रन बनाएका छन् । सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी तेस्रो स्थानमा छन् । बलिङतर्फ पनि उनले पाँच विकेट लिएका छन् ।
एनपीएलको पहिलो संस्करणमा समेत उत्कृष्ट प्रदर्शन गर्दै कार पुरस्कार जितेका ऐरी यसपटक पनि उक्त पुरस्कारका बलिया दाबेदार देखिएका छन् ।
लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलको प्रदर्शन पनि उल्लेखनीय छ । उनको नेतृत्वमा लुम्बिनी फाइनलमा प्रवेश गरेको छ । रोहितले सात खेलमा १२१ रन बनाउनुका साथै चार विकेट लिएका छन् । उनले अघिल्लो संस्करणमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै कार पुरस्कार जितेका थिए ।
काठमाडौं गोर्खाजका कप्तान करण केसीले पनि टोलीलाई प्लेअफसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । उनले सात खेलमा आठ विकेट लिनुका साथै ८९ रन बनाएका छन् ।
चितवन राइनोजका कप्तान जिम्बाब्वेका अलराउन्डर सिकन्दर रजाको व्यक्तिगत प्रदर्शन भने अपेक्षाकृत हुन सकेन । उनको नेतृत्वमा चितवन प्लेअफमा पुगे पनि उनले पाँच खेलमा ५६ रन मात्रै बनाउन सके । बलिङतर्फ भने उनले पाँच विकेट लिएका छन् ।
कर्णाली याक्सले यस संस्करणमा कप्तानीको जिम्मेवारी दुई खेलाडीलाई दिएको थियो । प्रतियोगिताको सुरुआती चरणमा सोमपाल कामीले टोलीको नेतृत्व गरेका थिए भने लिग चरणको अन्त्यतिर दक्षिण अफ्रिकी खेलाडी डेभिड मिलरलाई कप्तान बनाइएको थियो ।
सोमपालले सात खेलमा एक अर्धशतकसहित १२५ रन बनाएका छन् । बलिङमा पनि उनको प्रदर्शन प्रभावशाली रह्यो । उनले ८.९० को इकोनोमी रेटमा १० विकेट लिएका छन् ।
त्यस्तै, मिलरले चार खेलमा एक अर्धशतकको मद्दतमा ११० रन बनाएका छन् । यस क्रममा उनको उच्च स्कोर अविजित ९३ रन हो । मिलरले यसै संस्करणबाट पहिलोपटक एनपीएल खेलेका हुन् ।
विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेका लागि भने यस संस्करण त्यति सफल हुन सकेन । उनको नेतृत्वमा विराटनगर प्लेअफमा पुग्न असफल रह्यो । सन्दीपले सात खेलमा सात विकेट मात्रै लिए । तीमध्ये पाँच खेलमा उनी विकेटविहीन रहे । ब्याटिङमा पनि उनको प्रदर्शन उल्लेखनीय हुन सकेन ।
पोखरा एभेन्जर्सले प्रतियोगिताको सुरुआतमा कुशल भुर्तेललाई कप्तान बनाएको थियो । तर, टोलीको लगातार कमजोर प्रदर्शनपछि लिग चरणको अन्त्यतिर श्रीलङ्काका अलराउन्डर चमिका करुणारत्नेलाई कप्तानीको जिम्मेवारी दिइयो ।
कुशलले सात खेलमा दुई अर्धशतकसहित २३५ रन बनाउनुका साथै बलिङमा छ विकेट लिएका छन् । त्यस्तै, करुणारत्नले छ खेलमा ८५ रन बनाउनुका साथै चार विकेट लिएका छन् ।
अमेरिकी अलराउन्डर हरमित सिंहको कप्तानीमा रहेको जनकपुर बोल्ट्सले भने यस संस्करण अपेक्षित प्रदर्शन गर्न सकेन । टोली अङ्कतालिकाको पुछारमा रह्यो । यद्यपि, कप्तान हरमितको व्यक्तिगत बलिङ प्रदर्शन राम्रो रह्यो । उनले सात खेलमा ११ विकेट लिनुका साथै ९० रन बनाएका छन् ।






