कमल मल्लको शतकमा चितवनले काठमाडौंलाई दियो २०५ रनको लक्ष्य

कीर्तिपुर– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले काठमाडौं गोर्खाजलाई २०५ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनाएको हो।

चितवनका कमल मल्लले ५९ बलमा १० छक्का र ५ चौकाको मद्दतमा अविजित १२० रन बनाए। त्यस्तै, रवि बोपाराले २ छक्का र ३ चौकासहित ५३ रनको योगदान दिए।

काठमाडौंका कप्तान करण केसी र राशिद खानले समान २–२ विकेट लिए।

आजको खेलको विजेता टोलीले बुधबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। बुधबारको विजेता टोलीले शनिबार उपाधिका लागि लुम्बिनी लायन्ससँग भिड्नेछ।