भारतीयलाई नेपाली नागरिकताका लागि सिफारिश गर्ने वडाध्यक्ष पक्राउ

कात्तिक १४, कैलाली ।
भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने वडाध्यक्षसहित तीन जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको हो । उनले २०७५ साल फागुन २० गते भारतका अलियास अन्सारीलाई वंशजको आधारमा नागरिकता दिलाउन सिफारिस गरेको प्रहरीले जनाएको छ ।

वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई नक्कली बुवा बनाएर वडाध्यक्ष जोशीले भारतीय नागरिक अन्सारीलाई सिफारिस गरेको भेटिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

नागरिकता दिलाउन नक्कली बुवा बन्ने चौधरी भने फरार छन् । उनका दाजु बनेका खुसीराम चौधरी र भाउजू भनेकी गीता चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

भारतीय नागरिक अन्सारीले चौधरी परिवारलाई १ लाख रुपैयाँ दिएर आफ्नो परिवारका नक्कली सदस्य बनाएको प्रहरीले जनाएको छ । पक्राउ परेका तिनै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका वडाध्यक्ष जोशी नेपाली कांग्रेसबाट विजयी जनप्रतिनिधि हुन् ।