कुहिरो र सूर्योदय हेर्न मानुङकोट

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानुङकोटमा पर्यटकको आगमन बढ्न थालेको छ। बिहानपख कुहिरोले ढाकिएको दमौली बजार र मनोरम सूर्योदयको दृश्यावलोकन गर्न मानुङकोट पुग्ने पर्यटकको सङ्ख्या बढेको हो।

प्राकृतिक सौन्दर्य, मनमोहक हिमशृङ्खला र कुहिरोले ढाकिएको दृश्यका कारण मानुङकोट आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। विशेषगरी बिहानको समयमा यहाँबाट देखिने कुहिरो र सूर्योदयको दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ।

वडाध्यक्ष विष्णुकुमार श्रेष्ठका अनुसार पछिल्लो समय दैनिक तीनदेखि चार सयसम्म पर्यटक मानुङकोट पुग्ने गरेका छन्। उहाँले चिसो बढेसँगै यहाँको वातावरण थप रमणीय बनेको र पर्यटकको आगमनसमेत बढेको बताउनुभयो।

उहाँका अनुसार कतिपय पर्यटक अघिल्लो रात नै मानुङकोट पुगेर बास बस्ने र बिहानै सूर्योदय तथा कुहिरोको दृश्यावलोकन गरी फर्किने गरेका छन्।

पर्यटकको चहलपहल बढेसँगै स्थानीय होटल तथा अन्य व्यवसायमा समेत कारोबार बढेको स्थानीय व्यवसायी शैलेश सुनामले बताउनुभयो। पर्यटकको आगमनले स्थानीय व्यवसायीलाई प्रत्यक्ष लाभ पुगेको उहाँको भनाइ छ।

मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु र लमजुङ हिमालको मनोरम दृश्यसमेत अवलोकन गर्न सकिन्छ। विशेषगरी कुहिरोले दमौली बजार ढाकेको दृश्य यहाँको प्रमुख आकर्षण मानिन्छ। दमौली बजारलाई कुहिरोले ढाक्ने दृश्यलाई स्थानीय पौराणिक कथासँग समेत जोडेर हेर्ने गरिएको छ।