काठमाडौं । मासु प्रयोजनका लागि विभिन्न जिल्लाबाट काठमाडौँ ल्याइने पशुपन्छीको ढुवानीमा चरम लापरबाही हुने गरेको पाइएको छ । पशुपन्छीलाई लामो दूरीसम्म खाना र पानी नदिई, क्षमताभन्दा बढी सङ्ख्यामा एउटै सवारीसाधनमा कोचेर तथा अनुपयुक्त सवारीसाधन प्रयोग गरी ओसारपसार गर्ने गरिएको हो ।
नेपाल पशु कल्याण तथा वातावरण समाजले गरेको स्थलगत अवलोकन तथा फोटो र भिडियो सङ्कलनका क्रममा विशेषगरी राँगाभैँसी, बाख्रा र कुखुराको ढुवानीमा पशु कल्याणसम्बन्धी मापदण्ड उल्लङ्घन हुने गरेको पाइएको जनाएको छ ।
समाजले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिमको कैलाली, टीकापुर र अत्तरियालगायत क्षेत्रबाट काठमाडौँसम्म राँगाभैँसी ल्याउन ४८ देखि ७२ घण्टासम्म लाग्ने जानकारी दिएको छ । यस अवधिमा कतिपय पशुलाई खाना र पानीसमेत उपलब्ध नगराउने गरिएको समाजको भनाइ छ ।
समाजका निर्देशक हरि जोशीका अनुसार लामो दूरीको यात्रामा पशुलाई नियमित पानी तथा दाना खुवाउने र आराम गराउने व्यवस्था हुनुपर्ने भए पनि एउटै ट्रकमा क्षमताभन्दा बढी सङ्ख्यामा पशु कोचेर ल्याउने गरिएको छ । यसबाट पशुहरू घाइते हुने, शरीरमा घाउ लाग्ने तथा शारीरिक र मानसिक पीडा भोग्नुपर्ने अवस्था रहेको उनले बताए ।
उनका अनुसार राँगाभैँसी ओसारपसार गर्न विशेष प्रयोजनका लागि तयार गरिएका सवारीसाधन प्रयोग गर्नुपर्नेमा तरकारी तथा अन्य सामान ढुवानी गर्ने ट्रक प्रयोग गर्ने गरिएको छ । कतिपय अवस्थामा साना र ठूला राँगाभैँसीलाई एउटै ठाउँमा राख्ने र पर्याप्त स्थान नदिई बाँधेर ल्याउने गर्दा थप समस्या हुने गरेको छ ।
कुखुरा र बाख्राको ढुवानीमा समेत यस्तै समस्या देखिएको जोशीले बताए । पशुपन्छीमाथि हुने दुर्व्यवहार न्यूनीकरणका लागि समाजले जनचेतनामूलक अभियान सञ्चालन गरिरहेको छ । ढुवानीका क्रममा हुने लापरबाही सार्वजनिक गर्न फोटो तथा भिडियो सङ्कलन गरी प्रकाशन गर्ने अभियानसमेत सुरु गरिएको उनले जानकारी दिए ।
जोशीले पशुपन्छीको व्यापार वा मासु व्यवसायको विरोध नभई व्यवसाय सञ्चालनका क्रममा जनावरमाथि हुने क्रूर व्यवहार रोक्नुपर्नेमा जोड दिए । पशु पनि भोक, प्यास, डर र पीडा महसुस गर्ने जीवित प्राणी भएकाले उनीहरूको सुरक्षित ढुवानीको व्यवस्था गर्नु राज्यसहित सबै सरोकारवाला निकायको दायित्व भएको उनको भनाइ छ ।
सरकारले पशु ढुवानीसम्बन्धी मापदण्ड बनाए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको समाजले जनाएको छ । मापदण्डलाई समयानुकूल परिमार्जन गर्ने विषयमा सरकारी निकायले चासो देखाए पनि व्यवहारमा सुधार आउन नसकेको निर्देशक जोशीले बताए ।
पशु ढुवानीलाई व्यवस्थित बनाउन विशेष प्रकारका सवारीसाधन प्रयोग गर्नुपर्ने र त्यस्ता सवारीसाधन खरिद तथा सञ्चालनमा व्यवसायीलाई सरकारले सहुलियत र राजस्व छुट दिनुपर्ने उनको सुझाव छ ।
त्यस्तै, लामो दूरीमा पशु ओसारपसार गर्दा बीचबीचमा विश्रामस्थल (रेस्टिङ सेन्टर) स्थापना गर्नुपर्ने उनले बताए । यस्ता केन्द्रमा पशुलाई पानी तथा दाना खुवाउने, आराम गराउने र आवश्यक उपचार गर्ने व्यवस्था हुनुपर्ने उनको भनाइ छ ।
काठमाडौँमा पशु ढुवानीका कारण उत्पन्न हुने फोहोर तथा सरसफाइको समस्या समाधान गर्न चितवन आसपासमै आधुनिक र व्यवस्थित वधशाला स्थापना गर्न सकिने विकल्पसमेत उनले अघि सारे ।
समाजका अनुसार काठमाडौँमा राँगाभैँसी तथा अन्य पशुपन्छी कैलाली, टीकापुर, अत्तरिया, नेपालगञ्ज, बर्दिया, नवलपरासी, बारा, जनकपुर र विराटनगरलगायत क्षेत्रबाट ल्याउने गरिएको छ ।
पशु ढुवानीको अनुगमन प्रणालीसमेत प्रभावकारी नभएको समाजको ठहर छ । विभिन्न स्थानमा रहेका क्वारेन्टाइन कार्यालयले पशुको स्वास्थ्य प्रमाणपत्रका आधारमा ढुवानी प्रक्रिया अघि बढाए पनि वास्तविक रूपमा पशुलाई कसरी ओसारपसार गरिएको छ भन्ने विषयमा पर्याप्त स्थलगत अनुगमन हुन नसकेको जोशीले बताए ।
उनले पशु सेवा विभाग, क्वारेन्टाइन कार्यालय, ट्राफिक प्रहरी, पशु खरिदबिक्री व्यवसायी तथा ढुवानी व्यवसायीबीच समन्वय र सहकार्य बढाएर पशु ढुवानीसम्बन्धी मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे ।






