काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित ऐतिहासिक तथा धार्मिक पर्यटकीयस्थल नमोबुद्धमा प्रसिद्ध नमोबुद्ध जात्रा आजदेखि सुरु हुँदैछ । भोकले छटपटिएकी बघिनी र उनका पाँच डमरुको प्राण बचाउन आफ्नै शरीर अर्पण गरेका राजकुमार महासत्त्वको त्याग र करुणाको स्मरणमा हरेक वर्ष यो जात्रा आयोजना हुँदै आएको छ ।
कात्तिक शुक्ल चतुर्दशीदेखि प्रतिपदासम्म सञ्चालन हुने जात्राको पहिलो दिन आज दिवङ्गत पितृहरूको सम्झनामा रातभर दीप प्रज्ज्वलन गर्ने परम्परा रहेको नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाले जानकारी दिए । भोलि मङ्गलबार कात्तिक शुक्ल पूर्णिमाका दिन मुख्य मेला तथा विशेष पूजाआजा गरिनेछ ।
धार्मिक किंवदन्तीअनुसार तत्कालीन पनौती राज्यका राजा महारथ र रानी सत्यवतीका तीन छोरामध्ये कान्छा राजकुमार महासत्त्व एक दिन आफ्ना दाजुहरूसँग वनबिहारमा निस्किएका थिए । गन्धमान पर्वतको जङ्गलमा पुग्दा उनीहरूले भोकले छटपटिएकी सुत्केरी बघिनी र उनका पाँच डमरु देखे ।
भोक र अशक्तताका कारण बघिनी आफ्नै डमरुलाई समेत खानुपर्ने अवस्थामा पुगेको देखेपछि राजकुमार महासत्त्व द्रवित भए । उनले दाजुहरूलाई अघि पठाएर आफू त्यहीँ बसे । बघिनीले सुरुमा उनको शरीर खान नसकेपछि राजकुमारले आफ्नै शरीरमा चोट पुर्याएर रगत बगाए । त्यसपछि शरीरको मासु अर्पण गरी बघिनी र पाँच डमरुको प्राण बचाएको धार्मिक विश्वास छ ।
राजकुमार महासत्त्वले देह त्याग गरेपछि उनका अवशेष सङ्कलन गरी सोही स्थानमा स्तूप निर्माण गरिएको किंवदन्ती छ । यही घटनासँग जोडिएर उक्त स्थान ‘नमोबुद्ध’ नामले परिचित भएको मानिन्छ । राजकुमारको त्याग, बलिदान र करुणाको स्मरणमा हरेक वर्ष यहाँ जात्रा तथा धार्मिक मेला आयोजना हुँदै आएको छ ।
यस अवसरमा भक्तजनले पूजाआजा, दीप प्रज्ज्वलन र विभिन्न धार्मिक अनुष्ठान गर्ने गर्छन् । जात्रामा ५० हजारभन्दा बढी भक्तजन सहभागी हुने अपेक्षा गरिएको नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले बताए ।
उनका अनुसार दर्शनार्थीको सहजता, यातायात व्यवस्थापन, सरसफाइ तथा शान्ति सुरक्षालाई ध्यानमा राखेर नगरपालिका, नमोबुद्ध गुठी र स्थानीय सुरक्षा निकायबीच समन्वय गरी आवश्यक तयारी गरिएको छ ।
जात्रामा काभ्रेपलाञ्चोकसहित काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली र धादिङलगायत जिल्लाबाट हजारौँ बौद्ध धर्मावलम्बी तथा आन्तरिक पर्यटक सहभागी हुने अपेक्षा गरिएको छ ।





