काठमाडौं । नेपालको दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन ‘सिलिगुढी–झापा पेट्रोलियम पाइपलाइन तथा ग्रिनफिल्ड टर्मिनल परियोजना’ को आज शिलान्यास गरिएको छ ।
भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीबाट भर्चुअल माध्यममार्फत रिमोट थिचेर संयुक्त रूपमा परियोजनाको शिलान्यास गरेका हुन् ।
नेपाल र भारत सरकारबीच भएको सरकार–सरकार (जीटुजी) सम्झौताअनुसार निर्माण हुने यो परियोजनामा भारत सरकारले शतप्रतिशत अनुदान उपलब्ध गराउनेछ । इन्डियन आयल कर्पोरेसन (आईओसी) को प्राविधिक सहयोगमा परियोजना अघि बढाइने परियोजना प्रमुख सुरेन्द्र महतोले जानकारी दिए ।
पाइपलाइन तथा टर्मिनल निर्माणका लागि करिब १२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । निर्माण सुरु भएको मितिले ५४ महिना अर्थात् साढे चार वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
परियोजना प्रमुख महतोका अनुसार कुल ४९ दशमलव ६ किलोमिटर लामो पाइपलाइनमध्ये भारततर्फ ३५ किलोमिटर र नेपालतर्फ १४ दशमलव ६ किलोमिटर रहनेछ । भारतको सिलिगुढीस्थित आईओसी टर्मिनलबाट सुरु हुने पाइपलाइन मेची पुलनजिकैबाट नेपाल प्रवेश गर्नेछ । त्यसपछि झापाको मेचीनगर नगरपालिका–६, १० र ११ हुँदै वडा नम्बर १३ स्थित चारआलीमा निर्माण हुने प्रस्तावित टर्मिनलमा पुगेर टुङ्गिनेछ ।
द्विपक्षीय सहमतिअनुसार नेपाल आयल निगमले काँकरभिट्टादेखि चारआलीसम्म पाइपलाइन बिछ्याउने मार्ग र भण्डारणस्थलका लागि आवश्यक जग्गा व्यवस्थापन गरिसकेको छ । सरकारले २०७४ सालमै चारआलीमा २३ बिघा तीन कट्ठा १३ धुर जग्गा व्यवस्थापन गरी फिल्ड कार्यालयसमेत सञ्चालनमा ल्याएको महतोले बताए ।
निगमले पूर्वसम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र जग्गा व्यवस्थापनसम्बन्धी प्रारम्भिक काम पूरा गरिसकेको छ । अब आईओसीले पाइपलाइन बिछ्याउने र भण्डारण गृह निर्माणको काम अघि बढाउने जनाइएको छ ।
परियोजनाअन्तर्गत आठ इन्च व्यासको कार्बन स्टिल पाइप जमिनमुनि कम्तीमा एक दशमलव दुई मिटर गहिराइमा बिछ्याइनेछ । पाइपलाइनको सुरक्षा, निगरानी तथा सम्भावित चुहावट नियन्त्रणका लागि अत्याधुनिक स्काडा प्रणाली र फाइबर अप्टिक सेन्सिङ प्रविधि जडान गरिनेछ ।
चारआलीमा निर्माण हुने ग्रिनफिल्ड टर्मिनलको कुल भण्डारण क्षमता ३२ हजार ८०० किलोलिटर रहने फिल्ड कार्यालयका प्रशासन प्रमुख मनिष न्यौपानेले जानकारी दिए । उनका अनुसार टर्मिनलमा ३२ हजार २०० किलोलिटर डिजेल र छ हजार ६०० किलोलिटर पेट्रोल भण्डारण गर्न सकिनेछ ।
टर्मिनलमा आधुनिक स्मार्ट भर्टिकल ट्याङ्की, एकैपटक इन्धन भर्न सकिने आठ बे क्षमताको ट्रक लोडिङ सुविधा र दुईवटा अग्नि नियन्त्रणका लागि पानी तथा फोम ट्याङ्की प्रणाली निर्माण गरिनेछ ।
पाइपलाइन बिछ्याउने क्रममा मेची, निन्दा, हडिया र फुलबासालगायत नदी पार गर्नुपर्ने भएकाले जलचर तथा नदीको पारिस्थितिक प्रणालीमा असर नपरोस् भन्नका लागि होरिजन्टल डिरेक्सनल ड्रिलिङ (एचडीडी) प्रविधि प्रयोग गरिनेछ । यस प्रविधिबाट नदीको सतहभन्दा निकै गहिराइमा पाइप बिछ्याइने भएकाले प्राकृतिक बहावमा अवरोध नपुग्ने परियोजनाले जनाएको छ ।
त्यस्तै, टर्मिनल सञ्चालनका क्रममा निस्कने इन्धनको वाष्पलाई पुनः इन्धनमा रूपान्तरण गरी प्रदूषण र इन्धनको नोक्सानी घटाउन भेपर रिकभरी सिस्टम जडान गरिनेछ । तेल मिसिएको पानी प्रशोधनका लागि आयल वाटर सेपरेटरसमेत राखिनेछ ।
यसअघि २०८० जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सिलिगुढी–झापा पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी द्विपक्षीय सहमति भएको थियो ।
सोही सहमतिलाई कार्यान्वयन गर्ने क्रममा २०८१ असोजमा नयाँदिल्लीमा नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र इन्डियन आयल कर्पोरेसनका निर्देशक सेन्थिल कुमारबीच परियोजना निर्माणसम्बन्धी औपचारिक सम्झौतामा हस्ताक्षर भएको थियो ।





