आर्थिक तथा प्रशासनिक निलम्बन फुकुवासँगै एन्फा फर्किए अध्यक्ष र महासचिव

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई लामो समयपछि एन्फा मुख्यालय पुगेका छन् । उनीहरू सोमबार ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालय पुगेका हुन् ।

गत असार ११ गते अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फामाथि आर्थिक तथा प्रशासनिक निलम्बन लगाएका थिए ।

गत मंसिर ४ गते राखेपले एन्फामाथिको आर्थिक तथा प्रशासनिक निलम्बन फुकुवा गरेपछि आफूहरू कार्यालय फर्किएको महासचिव राईले जानकारी दिए । उनका अनुसार एन्फाका कार्यालयहरू पुनः सञ्चालनमा ल्याएर दैनिक गतिविधि अघि बढाइएको छ ।

आर्थिक अनियमितताको आरोप लागेपछि अध्यक्ष नेम्बाङ र महासचिव राई लामो समयदेखि फरार सूचीमा थिए । उनीहरू गत कात्तिक ११ गते जिल्ला अदालत ललितपुरमा उपस्थित भएका थिए । अदालतले जनही पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

यसैबीच, अध्यक्ष र महासचिव अनुपस्थित रहेपछि एन्फाका बहुमत सदस्यहरूले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बैठक सञ्चालन गर्दै आएका थिए । बहुमत सदस्यबाट निमित्त महासचिवको जिम्मेवारी पाएका दामोदर भण्डारीले अध्यक्ष र महासचिव एन्फा कार्यालय पुगेको जानकारी आफूले पाएको बताए ।

केही दिनअघि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले फिफा र एसियाली फुटबल महासंघ (एएफसी) का प्रतिनिधिसँग वार्ता गरेपछि एन्फामाथिको अन्तर्राष्ट्रिय निलम्बनसमेत फुकुवा हुने आशा नेपाली फुटबल क्षेत्रमा बढेको छ ।