काठमाडौं प्रहरीको स्विप अपरेसन, २४ घण्टामा ७९ जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले एकै दिन ७९ जनालाई पक्राउ गरेको छ।

काठमाडौंका विभिन्न स्थानमा सञ्चालन गरिएको स्वीप अपरेसनका क्रममा प्रहरीले ६७ पुरुष र १२ महिलासहित ७९ जनालाई पक्राउ गरेको हो। यसैगरी, विभिन्न मुद्दामा फरार रहेका आठ जना प्रतिवादीलाई समेत पक्राउ गरिएको परिसरका एसपी दानबहादुर थापाले जानकारी दिए।

अपराध रोकथाम तथा नियन्त्रण गरी समाजमा शान्ति र सुव्यवस्था कायम गर्ने उद्देश्यले प्रहरीले काठमाडौंका विभिन्न सार्वजनिक सेवा प्रवाह हुने स्थान तथा सरकारी कार्यालयहरूमा निगरानी बढाएको थियो।

सोही क्रममा सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने बिचौलिया, गुण्डागर्दीमा संलग्न तथा आपराधिक पृष्ठभूमिका व्यक्तिहरूमाथि निगरानी गर्दै उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।