उपत्यकामा एकै दिन ७७४ सवारीचालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७७४ जना सवारीचालक कारबाहीमा परेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार नियमित निगरानी तथा चेकजाँचका क्रममा उनीहरूलाई कारबाही गरिएको हो ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६१ जना, सिसिटिभी फुटेजका आधारमा पहिचान भएका ३५ जना, ट्राफिक बत्तीको संकेत उल्लङ्घन गर्ने २० जना र तीव्र गतिमा सवारी चलाउने १२६ जना रहेका छन् ।

त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने १८ जना, सवारीसाधनको अवस्था ठीक नभएका २२ जना र एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने दुई जना पनि कारबाहीमा परेका छन् ।

अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ४९० जना चालकलाई समेत कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए । कारबाहीमा परेका चालकलाई प्रचलित नियमअनुसार जरिवाना गरिएको उनले बताए ।

सडक अनुशासन कायम राख्न ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा नियमित चेकजाँच तथा निगरानीलाई तीव्रता दिएको छ ।

प्रहरीले सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, तीव्र गतिमा सवारी नचलाउन र मादक पदार्थ सेवन गरेर सवारी नचलाउन आग्रह गरेको छ ।

सवारी नियमको पालना चालकको जिम्मेवारीसँगै पैदलयात्रीसहित सबै सडक प्रयोगकर्ताको सुरक्षासँग जोडिएको विषय भएकाले जिम्मेवार र सुरक्षित रूपमा सवारी सञ्चालन गर्न प्रहरीले अनुरोध गरेको छ ।