अयोध्याबाट आएका चार सय तीर्थयात्रीलाई स्वागत

काठमाडौं । जनकपुरधाम र भारतको अयोध्याबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले सञ्चालन गरिएको अयोध्या–जनकपुरधाम रेल सेवामार्फत आएका करिब ४०० भारतीय तीर्थयात्रीलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ ।

नेपाल रेल्वे कम्पनीले जनकपुरधाम रेल्वे स्टेसनमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तीर्थयात्रीलाई स्वागत गरेका हुन् ।

सो अवसरमा श्रममन्त्री यादवले जनकपुरधाम–अयोध्या रेल सेवा नेपाल र भारतबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने महत्त्वपूर्ण माध्यम भएको बताए । उनले यस सेवाले धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै व्यापार, रोजगारी र उद्यमशीलताका नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे ।

जनकपुरधाम र अयोध्याबीचको सम्बन्ध यातायातमा मात्र सीमित नभई पारिवारिक, सांस्कृतिक, धार्मिक र भावनात्मक सम्बन्धसमेत रहेको उल्लेख गर्दै उनले सरयू–कमला एक्सप्रेसले दुवै देशका नागरिकबीचको आत्मीयता अझ बढाउने बताए ।

उनले भने, ‘अयोध्या र जनकपुरधामबीचको सम्बन्ध दुई सहरको सम्बन्ध मात्र होइन, यो बेटी–ज्वाइँ, परिवार, संस्कृति, परम्परा, आस्था र आत्मीयताको सम्बन्ध हो ।’

विवाहपञ्चमी महोत्सव नजिकिँदै गर्दा अयोध्याबाट जनकपुरधाम आउने श्रद्धालुका लागि रेल सेवाले आवागमन सहज बनाउने मन्त्री यादवको भनाइ थियो । उनले यसबाट धार्मिक पर्यटनसँगै स्थानीय होटल, रेस्टुरेन्ट, यातायात, हस्तकला, होमस्टे तथा साना व्यवसायको विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरे ।

मधेस प्रदेशका मुख्यमन्त्री यादवले अयोध्या–जनकपुर रेल सम्पर्क विस्तारले नेपाल–भारतबीचको यातायात सहकार्य, धार्मिक पर्यटन र आर्थिक विकासलाई थप गति दिने बताए । उनले रेल सेवा सञ्चालनका लागि ऐतिहासिक पहल गरेकोमा दुवै देशका प्रधानमन्त्री तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरे ।

उनले नेपाल र भारतबीचको ‘बेटी–रोटी’ सम्बन्धलाई व्यवहारमा सहज बनाउन सीमापार आवागमनका अवरोध हटाउनुपर्नेमा पनि जोड दिए ।

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले भगवान् श्रीराम र माता सीताको वैवाहिक सम्बन्धले जोडिएका दुई धार्मिक नगरीलाई रेलमार्गबाट जोड्ने पहल ऐतिहासिक उपलब्धि भएको बताए ।

त्यस्तै, विश्व हिन्दू परिषद् नेपालका प्रदेश सङ्गठन सचिव जङ्गबहादुर सिंहले रेल सेवाले धार्मिक, सामाजिक तथा आर्थिक क्षेत्रमा लाभ पुर्‍याउनुका साथै दुई देशका नागरिकबीचको सम्बन्ध विस्तारमा सहयोग गर्ने धारणा राखे ।

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार सरयू–कमला एक्सप्रेस नाम दिइएको उक्त रेल १७ वटा डब्बासहित मंगलबार बिहान ९ः१५ बजे जनकपुरधाम रेल्वे स्टेसन आइपुगेको थियो । रेलमा आएका भारतीय रेल्वे कम्पनीका प्रतिनिधि तथा तीर्थयात्रीलाई खादामाला लगाएर स्वागत गरिएको थियो ।

तीर्थयात्रीको स्वागतका लागि सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो । उनीहरूका लागि जानकी मन्दिरलगायत विभिन्न धार्मिकस्थलमा पूजाआजा तथा दर्शनको व्यवस्था मिलाइएको थियो । स्वागत तथा सम्मान र धार्मिकस्थलको दर्शनपछि तीर्थयात्रीलाई मंगलबार नै पुनः बिदाइ गरिने प्रबन्ध सञ्चालक पराजुलीले जानकारी दिए ।

नेपाल र भारत सरकारको सहयोगमा आधुनिक ब्रोडगेज रेलमार्ग निर्माण तथा विस्तार भएपछि सन् २०२२ मा जयनगर–कुर्था रेल सेवा पुनः सञ्चालनमा आएको थियो । त्यसको एक वर्षपछि कुर्थाबाट भङ्गहा–बिजलपुरासम्म रेल सेवा विस्तार गरिएको थियो ।