यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ। देशमा हाल कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहे पनि अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाले आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरेको छ। बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

त्यस्तै, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहने तथा अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बिहीबार बिहान काठमाडौँ उपत्यका तथा विभिन्न खोँचहरूमा साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। हाल पनि ती क्षेत्रका केही स्थानमा हुस्सु लागेको छ।