लमजुङ । तिहारपछि लमजुङका ग्रामीण पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ। चाडपर्वअघि सुनसान रहेका पर्यटकीय क्षेत्रमा अहिले पर्यटकको आगमन बढेपछि होमस्टे सञ्चालक तथा स्थानीय व्यवसायी उत्साहित भएका छन्।
जिल्लाका घलेगाउँ, काउलेपानी, राइनासकोट र हरसिङडाँडालगायत क्षेत्रमा पर्यटकको सङ्ख्या बढेको छ। पर्यटकको आगमनसँगै स्थानीय घरबास (होमस्टे), होटल तथा अन्य व्यवसाय पनि चलायमान हुन थालेका छन्।
क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँमा पछिल्लो समय दैनिक १०० देखि १५० जनासम्म पर्यटक पुग्ने गरेका छन्। घलेगाउँ होमस्टेका कार्यालय सचिव तथा घरबास सञ्चालक दीर्घराज घलेका अनुसार तिहारअघि न्यून रहेको पर्यटक आगमन अहिले बढ्दै गएको छ।
समुद्री सतहबाट करिब दुई हजार १०० मिटर उचाइमा रहेको घलेगाउँबाट अन्नपूर्ण, मनास्लु, माछापुच्छ्रे, गणेश र लमजुङ हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। गुरुङ समुदायको मौलिक संस्कृति, परम्परागत घरबस्ती र जीवनशैली यहाँका प्रमुख आकर्षण हुन्।
घलेगाउँमा घाँटु, चुट्का, सोरठी र कृष्णचरित्रलगायत परम्परागत सांस्कृतिक प्रस्तुति पर्यटकका लागि विशेष आकर्षण बन्ने गरेका छन्। त्यस्तै, चिया बगान, तमु सङ्ग्रहालय, दृश्यावलोकन स्तम्भ, उत्तरकन्या मन्दिर र कोइबो पनि यहाँका प्रमुख घुम्ने स्थल हुन्।
विसं २०५७ वैशाख २३ गते १२ घरबाट सुरु भएको घलेगाउँको होमस्टे कार्यक्रमले अहिले ग्रामीण पर्यटनको छुट्टै पहिचान स्थापित गरेको छ।
बेँसीसहर नगरपालिका–३ स्थित काउलेपानीमा पनि पर्यटकको आगमन बढेको छ। होमस्टे सञ्चालक कवीन्द्र गुरुङका अनुसार अहिले दैनिक ६० देखि ७० जनासम्म पर्यटक आउने गरेका छन्। गाउँको अवलोकन, काउलेपानी देवीको दर्शन तथा स्थानीय संस्कृति र रहनसहनबारे जानकारी लिन स्वदेशी तथा विदेशी पर्यटक यहाँ पुग्ने गरेका छन्।
पर्यटकको सङ्ख्या बढेसँगै होमस्टे व्यवसायबाट स्थानीयले आम्दानी गर्न थालेका छन्। यसले गाउँको आर्थिक गतिविधि विस्तारमा समेत सहयोग पुर्याएको गुरुङको भनाइ छ।
राइनास नगरपालिका–९ स्थित राइनासकोटमा दैनिक ३० देखि ४० जनासम्म पर्यटक पुग्ने गरेको होमस्टे समितिका अध्यक्ष बालसिंह गुरुङले बताए। राइनासकोटमा १४ घरमा होमस्टे सञ्चालनमा छन्।
ऐतिहासिक कोट, कालिका मन्दिर, कोटेश्वर महादेव, परम्परागत घुमाउने घर तथा हिमाली दृश्य यहाँका प्रमुख आकर्षण हुन्। यहाँबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यसँगै ग्रामीण जनजीवन र स्थानीय संस्कृतिको अनुभव लिन सकिन्छ। पर्यटकको आगमन बढ्दा होमस्टे सञ्चालक तथा स्थानीय व्यवसायीलाई राहत मिलेको अध्यक्ष गुरुङले बताए।
त्यसैगरी, मस्र्याङ्दी गाउँपालिका–३ स्थित हरसिङडाँडामा पनि तिहारपछि पर्यटकको चहलपहल बढेको छ। स्थानीय व्यवसायी पूर्णबहादुर गुरुङका अनुसार सडक पहुँच सहज बन्दै गएपछि यहाँ आउने पर्यटकको सङ्ख्या बढ्न थालेको हो।
दसैँपछि केही पर्यटक आउन थाले पनि तिहारपछि आगमन थप बढेको उनले बताए। यहाँ आउने कतिपय पर्यटक प्राकृतिक दृश्य अवलोकन गरेर फर्कने गरेका छन् भने केही रात बिताउनसमेत पुग्ने गरेका छन्।
राष्ट्रिय विभूति भक्ति थापाको बाल्यकालसँग जोडिएको हरसिङडाँडा प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्त्वका कारण पर्यटकको रोजाइमा पर्न थालेको छ।
ग्रामीण पर्यटकीय गन्तव्यमा पर्यटकको आगमन बढेसँगै स्थानीयस्तरमा सञ्चालित होमस्टे, होटल तथा साना व्यवसायले गति लिन थालेका छन्। सडक तथा अन्य पूर्वाधारको थप विकास र प्रभावकारी प्रचारप्रसार गर्न सके ग्रामीण पर्यटनमार्फत स्थानीयको आर्थिक अवस्था सुधार गर्न थप सहयोग पुग्ने देखिन्छ।
रासस






