सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी दशौं राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
यसअघि सुदूरपश्चिम प्रदेशलाई हराएको बागमतीले गण्डकीविरुद्ध पनि जित निकाल्दै प्रतियोगितामा लगातार दोस्रो सफलता हात पारेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै ११० रन बनाएको थियो। गण्डकीका लागि ओपनर आयुष्मा चापागाईंले सर्वाधिक २१ रन जोडिन्। चन्द्रमाया बराल र सृजना पौडेलले समान १७ रन बनाए।
त्यस्तै, सलिना सेनले नौ, सेरिना थापाले आठ, कप्तान कुसुम गोदारले सात, सिमाना केसीले पाँच, रञ्जना साउँदले दुई तथा यशोदा भुजेल र रेखा तामाङले समान एक रन बनाए।
१११ रनको लक्ष्य पछ्याएको बागमतीले १७.५ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
बागमतीको जितमा विपिशा शाहीले अविजित अर्धशतक प्रहार गरिन्। उनले ४६ बलमा छ चौकासहित नटआउट ५० रन बनाइन्। ओपनर हिलिशा गुरुङले २७ र लक्ष्मीमाया रुम्बा लामाले अविजित १३ रनको योगदान दिइन्। कञ्चन श्रेष्ठले नौ रन बनाइन्। हिलिशा र कञ्चन दुवै रनआउट भएका थिए।






