गण्डकी।पर्यटकीय सहर पोखरामा मौसम अनुकूल भएसँगै प्याराग्लाइडिङ गर्ने स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेको छ। हिमाल, तालतलैया र हरियालीले भरिएका डाँडापाखाको दृश्य आकाशबाट नियाल्न पाइने भएकाले पर्यटक यस साहसिक खेलप्रति आकर्षित भएका हुन्।
नेपाल हवाई खेलकुद संस्थाका अनुसार अहिले पोखरामा दैनिक दुई सयभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकले प्याराग्लाइडिङको अनुभव लिइरहेका छन्। दसैँ–तिहारको बिदाका समयमा भने दैनिक चार सयसम्म पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेका थिए।
संस्थाका अध्यक्ष माधव तिवारीका अनुसार प्याराग्लाइडिङ गर्ने पर्यटकमध्ये करिब ६० प्रतिशत विदेशी र ४० प्रतिशत नेपाली छन्। पछिल्लो समय नेपाली पर्यटकमा पनि यसप्रतिको रुचि बढ्दै गएको उनले बताए।
‘वर्षा र प्रतिकूल मौसम भएका दिनबाहेक पोखरामा वर्षमा करिब तीन सय दिन प्याराग्लाइडिङ उडान हुन्छ’, उनले भने, ‘पछिल्लो समय नेपालीहरू पनि यसप्रति आकर्षित भइरहेका छन्।’
साहसिक पर्यटनको महत्वपूर्ण गतिविधिका रूपमा प्याराग्लाइडिङ पोखराको पहिचान बनिसकेको तिवारीको भनाइ छ। पोखरा घुम्न आउने पर्यटकमध्ये करिब २० प्रतिशतले प्याराग्लाइडिङ गर्ने गरेको उनले जानकारी दिए।
नेपाल हवाई खेलकुद संस्थामा आबद्ध ५४ कम्पनीले पोखरामा प्याराग्लाइडिङ व्यवसाय सञ्चालन गरिरहेका छन्। ती कम्पनीमा दुई सय ३० जना तालिमप्राप्त पाइलट कार्यरत छन्। उडानमा सहभागी पाइलटदेखि यात्रुसम्मको बीमा गर्ने व्यवस्था रहेको तिवारीले बताए।
उनका अनुसार सम्भावित दुर्घटना न्यूनीकरणका लागि सुरक्षाका सबै आवश्यक उपाय अपनाइने गरिएको छ। प्याराग्लाइडिङ व्यवसायको अनुगमन तथा सञ्चालन अनुमतिपत्र नवीकरणलगायतका काम पनि संस्थाले गर्दै आएको छ।
पोखरा महानगरपालिका–१८ स्थित सराङकोट र तोरीपानीबाट उडान भरेका प्याराग्लाइडर फेवाताल किनारको खपौदीमा अवतरण गर्छन्। समुद्री सतहबाट करिब एक हजार छ सय ५० मिटर उचाइबाट उडान हुने फिस्टेल नेपाल प्याराग्लाइडिङ कम्पनीका प्रशिक्षक एवं पाइलट एलिस थापाले बताए। उनका अनुसार सुरक्षाका निर्धारित मापदण्ड पूरा गरेर मात्रै उडान सञ्चालन गरिन्छ।
थापाले पोखरामा प्याराग्लाइडिङका लागि उपलब्ध उडान क्षेत्र विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए। विशेषगरी एक्लै उडान (सोलो फ्लाइट) गर्न चाहने विदेशी पर्यटकलाई आकर्षित गर्न पर्याप्त एयर स्पेस आवश्यक रहेको उनको भनाइ छ।
‘एयर स्पेस कम हुँदा सोलो उडानका लागि आउने विदेशी पर्यटकलाई अपेक्षित रूपमा पोखरामा ल्याउन सकिएको छैन’, उनले भने, ‘नेपाल नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङका लागि एयर स्पेस विस्तार गर्ने हो भने विदेशी पर्यटकको आगमन बढाउन सकिन्छ।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि हवाई उडानको सुरक्षालाई ध्यानमा राख्दै केही समय प्याराग्लाइडिङ सेवा बन्द गरिएको थियो। पछि निश्चित उडान क्षेत्र निर्धारण गरेर नागरिक उड्डयन प्राधिकरणले पुनः सञ्चालन अनुमति दिएको थियो।
पोखरामा विगतको तुलनामा प्याराग्लाइडिङ प्रतियोगिता आयोजना हुने क्रम पनि घटेको प्रशिक्षक थापाले बताए। प्रतियोगितामा सहभागी हुन विभिन्न देशबाट आउने पर्यटकको सङ्ख्या घट्नुले यस क्षेत्रको पर्यटनमा समेत प्रभाव पारेको उनको भनाइ छ। पोखरा प्याराग्लाइडिङका लागि उपयुक्त गन्तव्य भएकाले व्यवसायीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने उनले बताए।
पोखरामा हाल करिब आठ हजार पाँच सय रुपैयाँमा प्याराग्लाइडिङ गर्न पाइन्छ। मौसम र प्याकेजअनुसार शुल्कमा केही घटबढ हुन सक्ने व्यवसायी बताउँछन्। पर्यटकले सामान्यतया १५ देखि ३० मिनेटसम्म आकाशमा उडेर साहसिक अनुभव लिन पाउँछन्। पोखरामा करिब तीन दशकअघि प्याराग्लाइडिङ सुरु भएको थियो।
प्याराग्लाइडिङका लागि दक्ष पाइलट उत्पादन गर्न पोखरामै तालिमसमेत सञ्चालन हुँदै आएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा हालै प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ। स्वदेशमै दक्ष पाइलट उत्पादन गर्ने उद्देश्यले एरोडाइनामिक प्याराग्लाइडिङ प्रालिले गाउँपालिकासँगको सहकार्यमा केन्द्र स्थापना गरेको हो।
प्याराग्लाइडिङबाहेक पोखरामा बञ्जी जम्प, स्काइडाइभिङ, अल्ट्रालाइट उडान र हट एयर बेलुनजस्ता साहसिक पर्यटन गतिविधि पनि सञ्चालनमा छन्। रोमाञ्चक अनुभव लिन चाहने स्वदेशी तथा विदेशी पर्यटक यी गतिविधिमा सहभागी हुने गरेका छन्।
प्रकृति, संस्कृति र साहसलाई पोखराको पर्यटनको आधार मान्दै आएको पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले साहसिक खेल गतिविधिले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको बताए। यस्ता गतिविधिमार्फत बढीभन्दा बढी विदेशी पर्यटक आकर्षित गर्न सके पोखराको पर्यटन क्षेत्रले थप लाभ लिन सक्ने उनको भनाइ छ।






