शरद् ऋतुमा ७७ देशका आरोहीलाई हिमाल आरोहण अनुमति, ३३ करोड बढी राजश्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ७७ देशका एक हजार ६३३ आरोहीले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार शरद् ऋतुमा ५० हिमाल आरोहणका लागि १९० टोलीका एक हजार ६३३ जनालाई अनुमति प्रदान गरिएको हो । अनुमति लिनेमा एक हजार २५३ पुरुष र ३८० महिला रहेका छन् ।

आरोहण अनुमति लिनेमा सबैभन्दा बढी फ्रान्सका नागरिक छन् । फ्रान्सबाट १५०, चीनबाट १४६, अमेरिकाबाट १३०, रुसबाट १२४, बेलायतबाट ११२, जर्मनीबाट १०२ र नेपालबाट ९० जनाले अनुमति लिएका छन् । यस्तै, स्पेनका ५६, स्वीट्जरल्यान्डका ५२, अस्ट्रेलियाका ४६ र चेक रिपब्लिकका ४२ आरोहीले अनुमति लिएका छन् ।

विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार आरोहण अनुमति शुल्कबापत सरकारले २१ लाख ९७ हजार ७१० अमेरिकी डलर अर्थात् ३३ करोड ४२ लाख ८६ हजार ६१७ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । उक्त राजस्व सङ्कलन अगस्टको अन्तिम सातादेखि सुरु भएको हो ।

अनुमति प्रदान गरिएका हिमालमध्ये सबैभन्दा बढी आरोहीले मनास्लु हिमाल रोजेका छन् । आठ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि ४३ टोलीका ५०० जनाले अनुमति लिएका छन् । तीमध्ये ३७३ पुरुष र १२७ महिला छन् । मनास्लु आरोहण अनुमतिबापत विभागले २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ ।

त्यस्तै, धौलागिरि प्रथम आरोहणका लागि छ टोलीका ३७ जनाले अनुमति लिएका छन् । यसबाट ८४ लाख ७३ हजार ६५० रुपैयाँ रोयल्टी प्राप्त भएको छ । मकालु हिमाल आरोहणका लागि एक टोलीका तीन जनाले अनुमति लिँदा छ लाख ८८ हजार ५० रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।

हिम्लुङ हिमाल आरोहणका लागि १३ टोलीका १३० जनाले अनुमति लिएका छन् । उनीहरूबाट ७९ लाख ७४ हजार २० रुपैयाँ रोयल्टी सङ्कलन भएको छ ।

यसैगरी, आमादब्लम हिमाल आरोहणका लागि ४० टोलीका ४७६ जनाले अनुमति लिएका छन् । उक्त हिमालबाट मात्रै सात करोड १३ लाख ४७ हजार १०० रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।

विभागका अनुसार पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ, जुगल र पेरीलगायतका हिमाल आरोहणका लागि पनि अनुमति प्रदान गरिएको छ ।