प्रधानमन्त्री बालेन र रविबीच पाँच घण्टा लामो छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच पाँच घण्टा लामो छलफल भएको छ ।

सभापति लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह बिहीबार बुढानीलकण्ठस्थित उनको निवास पुगेका थिए । लामिछानेका स्वकीय सचिव अविनास आचार्यका अनुसार दुई नेताबीच सौहार्दपूर्ण वातावरणमा छलफल भएको हो ।

भेटमा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमण, सरकारका कामकारबाही तथा समसामयिक राजनीतिक विषयबारे सभापति लामिछानेलाई जानकारी गराएका थिए ।

त्यसैगरी, संसद् बैठक आह्वान, संसद्मा पेस हुने विधेयक, अध्यादेश, मन्त्री तथा मन्त्रालयका कामकारबाही र सरकारको समग्र कार्यसम्पादनका विषयमा पनि छलफल भएको आचार्यले जानकारी दिए ।

रास्वपाले सञ्चालन गर्न लागेको पार्टी प्रशिक्षण कार्यक्रमलगायत संगठनात्मक विषयले समेत भेटमा प्राथमिकता पाएको बताइएको छ ।