दशौँ राष्ट्रिय खेलकुदः शारीरिक सुगठनमा आर्मीलाई तीन स्वर्ण

कर्णाली । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत शारीरिक सुगठन विधातर्फ त्रिभुवन आर्मी क्लबले तीन स्वर्ण पदक हात पारेको छ ।

मुख्य प्रशिक्षक राजेन्द्ररत्न तुलाधरका अनुसार पश्चिम रुकुमको चौरजहारीमा शुक्रबार सम्पन्न भएका विभिन्न आठ विधाका प्रतिस्पर्धामा आर्मीले तीन स्वर्ण पदक प्राप्त गरेको हो । एमएसपी (१७० भन्दा माथि) विधामा त्रिभुवन आर्मीका पुकार शाक्यले स्वर्ण, नेपाल प्रहरीका प्रनेश श्रेष्ठले रजत र बागमतीका रिजनकुमार श्रेष्ठले कास्य पदक प्राप्त गरे ।

महिलातर्फ डब्लुबी विधामा बागमतीका उर्मिला श्रेष्ठले स्वर्ण, त्रिभुवन आर्मीका सृजना घिसिङले रजत र गण्डकीका आशा चौधरी कास्य पदक प्राप्त गरेका थिए । त्यस्तै, सशस्त्र प्रहरीका शीला ठकुरीले स्वर्ण, बागमतीका तारा कैंजुले रजत र नेपाल प्रहरीका रिपु घर्तीले कास्य पदक प्राप्त गरेका थिए ।

वुमेन्स वेलनेस (१७० भन्दा कम) विधामा त्रिभुवन आर्मीकी शिवानी लामाले स्वर्ण पदक हासिल गरिन् । गण्डकीका बिपना कुमालले रजत र लुम्बिनीकी पुनम सुनारले कास्य पदक प्राप्त गरे । मेन्स क्लासिक बडीबिल्डिङ विधामा त्रिभुवन आर्मीकै अनिश रसाइलीले स्वर्ण, लुम्बिनीका बिजेन्द्रमान श्रेष्ठले रजत र मधेसका हरिनारायण साहले कास्य पदक प्राप्त गरेको मुख्य प्रशिक्षक तुलाधरले जानकारी दिए ।

एमएपी (१७० भन्दा कम) विधामा नेपाल प्रहरीका सुमन राईले स्वर्ण पदक प्राप्त गरे । बागमतीका सबिन चौलागाईंले रजत पदक र लुम्बिनीका रेशम रानाले कास्य पदक पाए ।

त्यसैगरी, एमएपी (१७० भन्दा माथि) विधामा सशस्त्र प्रहरी बलका अनुपविक्रम बिष्टले स्वर्ण पदक हात पार्दा लुम्बिनीका ईश्वर पुनले रजत र गण्डकीका यमन्त गुरुङ कास्य प्राप्त गरे । एमएसपी (१७० भन्दा कम) विधामा नेपाल प्रहरीका सृजन महर्जन स्वर्ण, त्रिभूवन आर्मीका ज्ञानेश्वर चौधरी रजत र बागमतीका राज शाही काँस्य पदक प्राप्त गर्न सफल भएका थिए ।