हुम्ला । हुम्लाका किसानले यस वर्ष स्याउ बिक्रीबाट आठ करोड २६ लाख ५६ हजार रुपैयाँ आम्दानी गरेका छन्। जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ जिल्ला बाहिर बिक्री हुन थालेपछि किसानको आम्दानी बढेको हो।
कृषि विकास कार्यालय हुम्लाका अनुसार यस वर्ष जिल्लामा पाँच हजार पाँच मेट्रिक टन स्याउ उत्पादन भएको छ। जिल्लाभर ६९० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएकामा एक हजार ३७७ दशमलव छ मेट्रिक टन स्याउ जिल्ला बाहिर बिक्रीका लागि पठाइएको कार्यालय प्रमुख चूडामणि पन्तले जानकारी दिए।
गाउँपालिकागत विवरणअनुसार सबैभन्दा बढी सर्केगार्डबाट ५०० मेट्रिक टन स्याउ निकासी भएको छ। त्यस्तै, सिमकोटबाट ४००, खार्पुनाथबाट २००, चङ्खेलीबाट १४०, ताँजाकोटबाट ६७ दशमलव छ, नाम्खाबाट ५० र अदानचुलीबाट २० मेट्रिक टन स्याउ जिल्ला बाहिर गएको छ।
काँचो स्याउको निकासी रोक्न गत साउनदेखि गाउँपालिकाका कृषि प्राविधिकको सिफारिस अनिवार्य गरिएको थियो। तर, सिफारिसबिनै पनि स्याउ बाहिर पठाइएको सूचना प्राप्त भएकाले वास्तविक निकासी र कारोबारको परिमाण अझ बढी हुन सक्ने कार्यालय प्रमुख पन्तले बताए।
व्यक्तिगत रूपमा खरिद गरेर जिल्ला बाहिर पठाइएको तथा जिल्लाभित्रै खपत भएको स्याउको विवरण भने कार्यालयको तथ्याङ्कमा समावेश नभएको उनले स्पष्ट पारे।
सडक सञ्जाल विस्तारसँगै हुम्लाको स्याउले जिल्ला बाहिरका बजारमा पहुँच विस्तार गर्न थालेको छ। गत वर्ष करिब चार करोड रुपैयाँको स्याउ निकासी भएकोमा यस वर्ष कारोबार दोब्बरभन्दा बढी पुगेको हो।
स्याउ बिक्रीबाट राम्रो आम्दानी हुन थालेपछि किसानमा व्यावसायिक खेतीप्रति आकर्षण बढेको छ। स्याउ खरिद–बिक्रीमा संलग्न अदानचुली गाउँपालिका–३ का अर्जुन फडेराले स्याउ खेतीबाट आम्दानी हुन थालेपछि किसान उत्साहित भएको बताए।






