जुम्लामा डिजिटल कर प्रणाली

कात्तिक १५, जुम्ला ।
जिल्लाको हिमा गाउँपालिकाले डिजिटल एकिकृत सम्पत्ति कर प्रणाली शुरु गरेको छ ।

गाउँपालिकाले विशेषगरी सम्पत्ति कर सङ्कलन गर्न यो प्रणाली लागू गरेको हो । गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीका अनुसार कर चुहावट नहुने र आर्थिक पारदर्शी, मितव्ययिताका हिसावले सहज होस् भनेर सम्पत्ति कर सङ्कलनमा डिजिटल प्रणाली लागू गरिएको हो ।

पालिकाभरका ७ वटै वडामा यो प्रणाली लागु गरिएको उनले जानकारी दिए । सूचना प्रविधि अधिकृत भीमबहादुर रावतका अनुसार गाउँपालिकाले सम्पत्ति कर सङ्कलन गर्न चार क्षेत्र छुटयाएको छ ।

व्यापारिक क्षेत्रमा पाँच सय, आवासीय क्षेत्रमा तीन सय, कृषि क्षेत्रमा दुई सय ५० र वन तथा बगर क्षेत्रमा प्रति वर्गमिटर एक सय रुपैयाँ कर तोकिएको छ । यहाँका स्थानीयवासी यसअघि कर तिर्न गाउँपालिकामा धाउनु पर्ने बाध्यता थियो ।

तर अब वडाबाटै सुविधा पाएपछि गाउँपालिका धाउनु पर्ने बाध्यता टरेको सुचना प्राविधिक अधिकृत रावतले बताए । (रासस)