कात्तिक १६, काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बोलाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष प्रस्ताव गरेका छन् ।
अध्यक्षद्वय प्रचण्ड र ओलीबीच भएको भेटवार्ताको क्रममा प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन् । ओलीले भेटका लागि लगातार प्रस्ताव गरेपछि प्रचण्ड शनिबार बालुवाटार पुगेका थिए ।
कात्तिक ४ मा भएको सहमति तोडिएको भन्दै प्रचण्डले अर्का अध्यक्षसँग भेट्न मानिरहेका थिएनन् । दुई अध्यक्षबीच सम्वाद गराउन भन्दै ओली निकट नेताहरु खुमलटार पुगेका थिए ।
शनिबार ओलीसँग भेटेका प्रचण्डले पार्टीको सचिवालय बैठक तत्कालन बोलाउने प्रस्ताव गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार भारतीय खुफिया एजेन्सी ‘र’का प्रमुख सामन्तकुमार गोयलको हालै भएको नेपाल भ्रमण, कर्णाली प्रदेशको विवाद, पर्सा घटना लगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बस्नुपर्ने उनको जोड थियो ।
प्रधानमन्त्री ओली भने बैठक बोलाउन तयार छैनन् । अहिले बैठक आवश्यक नभएको भन्दै उनले दुई अध्यक्षबीच छलफल गर्नुपर्नेमा जोड दिएका थिए । तर प्रचण्डले बैठक बस्नैपर्ने अड्डी कसेपछि महासचिवसँग छलफल गरौंला भनेको स्रोतको दाबी छ ।







