तीन वर्षमा १२ लाख आप्रवासी भित्र्याउने क्यानडाको योजना

कात्तिक १६, काठमाडौं ।
क्यानडाले तीन बर्षमा करिब १२ लाख आप्रवासी भित्र्याउने योजना सार्वजनिक गरेको छ ।

क्यानडाको अर्थव्यवस्थालाई अगाडी बढाउन तथा कामदारको माग पूर्ति गर्नलाई तीन बर्षमा १२ लाख आप्रवासी भित्र्याउने योजना रहेको क्यानडाका संघीय आप्रवासन मन्त्री मार्को मेडिसिनोले शुक्रबारको एक कार्यक्रममा घोषणा गरेका छन् ।

श्रमबजारमा कामदारको माग पूर्ति गर्न तथा कोभिड–१९ को महामारीको चपेटामा परेको अर्थतन्त्रलाई अगाडी बढाउनलाई क्यानडाले यस्तो रणनीति अपनाएको मन्त्री मेडीसिनोको भनाई छ ।

यस योजनाअनुसार सन् २०२१ मा चार लाख एक हजार, २०२२ मा चार लाख ११ हजार र २०२३ मा चार लाख २१ हजार आप्रवासीलाई स्वागत गरिनेछ । क्यानडाको श्रम बजारमा थप श्रमिक तथा कामदार चाहिएको मन्त्री मेडिसिनोले बताए ।

यस योजनाअनुसार सन् २०२१ मा दुई लाख ३२ हजार नयाँ आप्रवासीलाई स्वागत गर्ने र क्यानडामा पहिल्यैदेखि बसिरहेका एक लाख तीन हजार पाँच सय परिवार, ५९ हजार पाँच सय शरणार्थी र अन्य ५५ सय सहित संरक्षित व्यक्तिहरुलाई स्वागत गरिने छ ।

क्यानडा सरकारको यो लक्ष्य पुरा भएमा सन् १९९९ मा क्यानाडामा आप्रवासको संख्याको रेकर्ड तोड्ने अपेक्षा गरिएको छ ।

क्यानडाको आप्रवासी नीतिलाई विश्वभर नै एक नमुनाको रुपमा लिइन्छ । यहाँ ऐतिहासिक रुपमा कुशल श्रमिकको साथसाथै शरणार्थी र अन्य व्यक्तिहरुलाई सहजै स्वागत गरिएको छ ।

क्यानडामा कोभिड–१९ का कारण मार्चदेखि सबै आप्रवासीको लागि सिमानाका बन्द गरिएको छ । अगस्टमा मात्रै क्यानडामा एक लाख २८ हजार चार सय २५ जना नयाँ आप्रवासीलाई स्वागत गरिएको थियो ।

सन् २०२० मा तीन लाख ४१ हजार आप्रवासीलाई स्वागत गर्ने लक्ष्य लिइएकोमा यत्तिको संख्यामा मात्र आप्रवासी भित्रिएका हुन् ।

क्यानडाको माइग्रेन्ट वर्कर्स फर एलाइन्स चेन्ज नामक संस्थाले क्यानडामा कानुनी रुपमा भित्रिएका सबैलाई समान पहिचान दिने क्यानडाको प्राथमिकता रहेको बताउँदै सबैलाई परिचय दिने र नागरिकको हैसियतमा सेवा सुविधा दिने जनाएको छ ।

क्यानडामा हालसम्म दुर्ई लाख ३२ हजार कोरोना भाइरसको संक्रमित भएका छन् भने १० हजारको मृत्यु भएको छ । (एजेन्सी)