कात्तिक १६, सिरहा ।
जिल्लाको कर्जन्हामा छोराको कुटाइबाट आमाको मृत्यु भएको छ ।
कर्जन्हा नगरपालिका ३ खैराटोलका ४७ वर्षीय रामअवतार साह सोनारले घरायसी विवादमा ८५ वर्षीया आमा सुदामा देवी साहलाई घाँटी थिची हत्या गरेका हुन् ।
गत मंगलबार बेलुका घरायसी विवादका क्रममा छोराले घाँटी थिचेपछि घाइते भएकी सुदामाको जनकपुरस्थित रामजानकी मेडिकलमा उपचार गराइए पनि सुधार नभएपछि थप उपचारको लागि जिल्ला अस्पताल सिरहा ल्याइएको थियो ।
उपचारकै क्रममा उनको शनिबार अपरान्ह मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवम् डीएसपी शालिग्राम शर्माले जानकारी दिए ।
सुदामाका छोरा रामअवतारलाई प्रहरीले आवश्यक कारवाहीका लागि नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीयवासीले भने रामअवतारले आफ्नै आमालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरी मलमुत्र खुवाउने प्रयास गरेको समेत आरोप लगाएका छन् ।







