बनेपाको जङ्गलमा भेटियो पुरुषको शव

कात्तिक १६, काभ्रे ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ स्थित सिनागालको जङ्गलमा एक पुरुषको शव फेला परेको छ ।

शनिबार बेलुका अपाङ्ग अस्पतालभन्दा माथिको जङ्गलमा अन्दाजी ३० देखि ३५ वर्षका देखिने पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । शवको अझै पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताए ।

शवलाई अहिले धुलिखेल अस्पतालमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा घटना शङ्कास्पद रहेको प्रहरीको भनाइ छ ।